कोरोना कहर र कोहलपुरको कला परिदृश्य

                   बिक्रम शिशिर

प्रकृति, प्राणी, बिपत्ति सधैँ मेल खादैनन् र पनि यिनीहरू अगलबगलमा नै रहन्छन् । जब जब बिपत्ति विनासकारी हुन्छ, तब तब प्राणीहरू बिचलित हुन्छन् र प्राणीमध्ये सबैभन्दा आतंकित बन्छ मानवजाति । किनकि यहाँ मानिसले बोल्न सक्ने बुझ्न सक्ने सोच्न सक्ने र समाधान गर्न सक्ने क्षमता राख्छन् । त्यसैले हर प्राकृतिक विनास होस् वा मानव निर्मित विनासहरू सफलतापूर्वक समाधान गरेको पाइन्छ । कतिपय कुरामा पूर्वाअनुमान गरी मानव सुरक्षा सतर्कता अपनाउन सचेत गराएको सन्दर्भलाई आत्मसात् गर्न सकिन्छ ।

अहिले विश्व परिपे्रक्षलाई नियाल्दा कोरोना ( कोभिड–१९) को महामारीले आतंक मच्चाएको छ । आर्थिक तथा जनस्वास्थ्यका दृष्टिले प्रायः देश अछुतो छैनन् । यो रोगको प्रभावको ग्राफ हाम्रो देशमा पनि दिनानुदिन बढ्दो छ । हरेक नेपालीको दैनिकी साथै समाज, समुदाय, परिवारलाई प्रभावित गरेको छ । शिक्षा, स्वास्थ उत्पादन, विकास, मनोरञ्जन, कला, साहित्य, संगीत लगायत अत्यावश्यक कुराहरू ठप्पप्रायः छन् । सरकारले जारी गरेको बन्दाबन्दी प्रभावकारी हुन नसक्नु, नागरिक चेतना र स्थानीय तह र प्रशासनले स्थलगत, वस्तुगत निरीक्षण गर्न नसक्नु एक प्रमुख कारण बनेकको छ ।

हरेक काम कार्बाहीका लागि केन्द्रीय निर्णयको अपेक्षा गर्नुको बाध्यात्मक अवस्थाले लकडाउनको सबैभन्दा प्रभाव निम्नवर्ग, सोझा नागरिक, अपांग, वृद्धवृद्धा, बालबालिका तथा महिलामा परेको छ पाइन्छ । बन्दाबन्दीले खुम्चिनुपरेको साँघुरो दायराभित्र कतिपय सृजनात्मक काम भने भइरहेको देखिन्छ । चाहे शिक्षामा होस् या स्वास्थ्य, उत्पादन, विज्ञान, कृषि, कला, साहित्य, संगीत, नाट्य विधाहरूमा रचनात्मक काम भएको पाइन्छ । बन्दाबन्दीमा यस्ताखाले काममा कतिपय सर्जकका लागि अवसरमा परिणत गर्ने समय बनेको छ ।

विगत केही वर्षदेखि सिर्जनात्मक कर्ममा लाग्नेका लागि एउटा साझा फोरमको रुपमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले काम गरिरेको छ । अझ यसको कला विभागले संस्थाका अन्य विभागझै कोहलपुर लगायत आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमसहित आफूलाई सबल रुपमा उभ्याएको छ । ०७३ सालमा कला विभाग गठन भएपछि त्यसले सुदूरपश्चिम, कर्णाली तथा प्रदेश ५ लाई केन्द्रित गरेर लोककला कार्यशाला गर्यो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा पूर्णिमाको कला विभागको सहकार्यमा गरिएको सो कार्यक्रममा अवधी तथा थारु लोककलाको व्यवहारिक तथा सैद्धान्तिक पाटाका बारेमा प्रशिक्षण तथा गोष्ठी गरियो ।

त्यसपछि सोही क्षेत्रलाई आधार बनाएर पोस्टर कला, कार्यशाला तथा गोष्ठी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजना र पूर्णिमाको कला विभागको संयोजकत्वमा सम्पन्न गरिसकेको छ । लोक, आधुनिक तथा सिर्जनात्मक कलामा विविध आयामसँग सम्बन्धित क्षेत्र तथा विधामा केन्द्रित रहेर कला विभागले विभिन्न समयमा छलफल, कार्यशाला, गोष्ठी तथा प्रदर्शनी गरेको छ । पछिल्लो समयमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठनको कला विभागले ‘कोहलपुरमा कला’ भन्ने नाराका साथ यस क्षेत्रका विभिन्न ठाउँ लगायत कर्णाली प्रदेशको भेरीगंगा नगरपालिकामा समेत गरी कलाका विविध गतिविधि गरिसकेको छ ।

आवश्यकता अनुसार कहिले मासिक त कहिले विभिन्न अवसर पारेर कलाका गतिविधि गर्दै आएको छ । यस कला विभागमा आबद्ध कलाकार लगायत अन्य आसपासका कलाकारले कोरोना संकटका कारण लगाइएको लकडाउनलाई एउटा अवसरको रुपमा लिएको ल्याएको पाइन्छन् । आफ्नो इच्छा हुँदाहुँदै पनि कारणवश प्रकट गराउन नसकेका सिर्जना बन्दाबन्दीको समय विशेष बनेको छ । कला विभाग सदस्य आयुष्मा ढकाल भन्छिन्, ‘जब ब्रस लिएर रङसँग भावना रंगिन्छ । समय बितेको थाहै पाउँदिन ।’

प्रायः लोक तथा दृश्यकला रचनामा रमाउने आयुष्मा थप्छिन्, ‘कल्पनाको गगनभन्दा ठुलो सिङ्गो आकाश पनि छैन । जब कल्पना गरिन्छ, सारा ब्रह्माण्ड सिर्जनाको दायरामा साँघुरो हुन्छ ।’ कला रचनाले मानवीय चेतनालाई बिहंगम बनाउने बताउँदै अर्का सदस्य कमल खत्रीले बन्दाबन्दीलाई अवसरको रुपमा सदुपयोग गरेको सुनाए । दृश्य तथा आधुनिक चित्र बनाउन रुचाउने खत्रीले आफूमा क्षमता र रूचि हुँदाहँुदै पनि चाहे जति सिर्जनात्मक काम गर्न नसकेको सुनाउँदै भने, ‘यद्यपि, बन्दाबन्दीमा चाहेजस्तो मौका जुरेको छ ।’

अंशु र वंशु चन्द दिदीबहिनी हुन् । दुवैले बन्दाबन्दीलाई चित्र बनाउने अवसरको रूपमा लिएका छन् । प्रायः मुहार र दृश्यचित्र बनाउने यी दुई बहिनीमध्ये अंशु चन्द कलामा अलि बढी सक्रिय देखिन्छिन् । प्रायःजसो स्केच, वस्तु, पर्यावरण दृश्यचित्र बनाउने उनी पनि विभागको सदस्य हुन् । त्यस्तै, नेपालगञ्ज घर भएका विभागका सदस्य सागर क्षेत्री कोरोना महामारीले विश्वलाई नै नराम्ररी थिल्थिलो पारेको परिवेश भए पनि सिर्जना गर्नेलाई खासै चिन्ताजनक नबनाएको बताउँछन् । उनले अधुरो पेन्टिङ पूरा गर्ने अवसरको रुपमा लिएको सुनाए । उनले अधुरै छोडेका पेन्टिङ पूरा गरेर पनि केही नयाँ गरेका छन् । उनले बन्दाबन्दीको बेला पनि कलाकृति बेचेको बताए ।

विभागकै अर्की सदस्य खुश्वु विष्टले बन्दाबन्दीले निम्त्याएको विषम परिस्थितिमा विचलित नभई सिर्जनात्मक काम गरेको सुनाइन् । उनले सिर्जनात्मक कार्यले आत्मबल बलियो बनाउने भएकाले विषम परिस्थितिमा रोगसँग लड्ने क्षमता विकास हुने बताइन् । उनले कोहलपुरमा ललितकला पाठशाला खुलेपछि सिकेका कलाका विविध शिल्पगत ज्ञान, विधि र विधागत अध्ययनलाई निरन्तर दिन बन्दाबन्दीले समय जुराएको जिकिर गरिन् । उनले भनिन्, ‘त्यहाँ सिकेका ज्ञानलाई निरन्तर अभ्यासमा लागू गर्ने समय पाएकी छु ।’ केही समय पहिले खुलेको ललितकला पाठशाला कोहलपुर र यस आसपासका इच्छुक कलाकारको मार्गनिर्देशक बनेको छ ।

उर्मिला थापा, विद्यालय छुट्टिपछि बन्दाबन्दीको कडाइ हुनसक्ने सम्भावनाले हतार हतार कोहलपुरबाट सल्यानको कालिमाटी पुगिन् । उनले बन्दाबन्दी लामो समय जान्छ भन्ने थाहा नभएकाले कला बनाउने प्रयाप्त सामग्री लैजान नपाएर पछुतो लागेको गुनासो गरिन् । प्रायः दृश्यचित्र आकर्षक बनाउने थापा कोहलपुर भइदिएको भए यतिखेर धेरै कलाकृति बनाउने अवसर रहेको बताइन् । अहिले आफूले कलाकृति कम बनाए पनि ग्राफिक डिजाइनको काम भने सिकिरहेको जानकारी दिइन् ।

बाँके बैजनाथका नवराज राणा चित्र बनाउनमै व्यस्त छन् । काठमाडौंमा कला अध्ययन गरेर गाउँ फर्केका उनी यतिबेला चित्र बनाउनमै व्यस्त छन् । उनले केही वाल, केही क्यानभास र कागजमा परिवेश अनुसारका कलाकृति बनाएको सुनाए । उनले भने, ‘कठिन समय छ, आवतजावत फिटिक्कै छैन । मानिसमा त्रासको वातावरण हुँदाहुँदै पनि मैले केही पेन्टिङ गरेकी छु ।’ पेन्टिङ गर्ने हुटहुटी बन्दाबन्दीले पूरा गरेको विभागका अर्की सदस्य दिब्या गौतम सुनाइन् । चित्रसँगै क्राफ्टमा रुचि छ प्राष्ना दियालीको । विशेष गरी स्टोन आर्टमा आफ्नो परिचय बनाइसकेकी उनी यस क्षेत्रकी आशालाग्दो कलाकार हुन् । समय कष्टकर छ ।
००००

समयले हरपल मानिसलाई झन् कठोर बनाउँदै लगेको छ । मृत्युु अवश्य हुनेछ । त्यसैले हरेक दिन समय र जीवनलाई अनुभव गर, अनुभवमै रमाउँ, मृत्युु एकचोटि हो र ? हरेक बिहान एक नयाँ जीवन नयाँ अनुभव लिने अवसरको रुपमा आएको हुन्छ । तर, अहिले म हरेक बिहान त्रासमा उठ्छु र मृत्युुलाई अँगालो मारेर सुत्छु । साँच्चिकै समय एकदमै कठिन भएको छ । त्रास, डर आँसु, खुसी एउटै अनुहारमा देखिन्छ । यो जीवनको एक छुट्टै अनुभव लिने अवसरको पनि हो ।

यही अवसरमा मैले आफ्ना भावनालाई दिनदैनिक रुपमा क्यानभासमा उतार्दै आएको छु । सिर्जनामा रमाउनु, समय परिवेशलाई नजिकबाट नियाल्ने र छाम्ने अवसरको रुपमा समेत मैले यो समयलाई लिएको छु । भीडका बीचमा हराइरहेको मानिस अहिले प्रकृतिको समीपदेखि सुदूरसम्मको कलात्मक छालमा आफूलाई खोजिरहेको छ । समयले मानिसलाई कहिलेकाही आफूभित्रको उकुसमुकुसलाई उत्खनन् गर्ने अवसर दिँदो रहेछ । अहिले मलाई त्यही अनुभूत भइरहेको छ ।


००००
मैले यसैबीचमा कोहलपुर तथा यस आसपासमा रहेर कला साधना गरिरहेका कलाकारको मनोविज्ञान बुझ्ने कोशिस गरे । उनीहरु अहिलेको कोरोना महामारीमा आफूलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरेको पाएँ । यसैबीच यस क्षेत्रबाट राष्ट्रिय स्तरसम्म आफूलाई परिचित गराएका अर्का कलाकार अश्विन कोइरालाले आफूलाई कोरोना कहरले अवसर ल्याएको बताए । विशेषगरी मुहार र आधुनिक कला काम गर्दै आएका कोइराला पूर्णिमा साहित्य प्रतिष्ठानको कला विभागका सचिवसमेत हुन् । उनले संकटसँग डराउने भन्दा पनि त्योसँग जुँधेर आफूलाई सिर्जनशील बनाउनुपर्ने धारणा राख्छन् ।

००००
बन्दाबन्दीले यस क्षेत्रका बालबालिकालाई सिर्जनात्मक कार्य गर्न विशेष अवसर नै जुटाएको छ । अभिभावकले पनि आफ्ना बालबालिकाको अतिरिक्त क्षमताको अध्ययनमा जोड दिएको पाइन्छ । उदाहरणका लागि केही नाम लिन सकिन्छ अनुश्री ढकाल, खगेन्द्र शाही, निश्चला गैरे, आर्या ढकाल, अभि चन्द, आयुषा मण्डल, अनुष्का ढकाल, रोहित थारू, राधिका शाही, रिताष्मा केसी, स्वरूप पौडेल, आयुष्मा आचार्य, वैभवविक्रम चन्द, वर्षा थापा, सौगात साउत, धनन्जय चौधरी, पबित्र थापा, श्रवण चौधरी लगायतले आफूलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरेका छन् । यसबीचमा आफ्नो बुवा लक्ष्मण पौडेललाई जन्मदिनको अवसर पारेर स्वरुप पौडेलले बुवाको मुहारचित्र उपहार दिए । छोराको कामबाट आफू प्रभावित भएको बुवा लक्ष्मणले सुनाए ।

यतिबेला स्कुल जानुपर्ने नभएकाले घरमा चित्रकलाको अभ्यास गरिरहेका छन् वैभवविक्रम चन्द । उनले साइकल सिरिजमा काम गरेका छन् । किनकि साइकलमा विभिन्न ज्यामितीय सबै कोण एकै वस्तुमा लागु हुने हुनाले पनि यसलाई हामीले निरन्तरता दिएका हौँ । साथै घरमा प्रायः चित्रका काम भइरहने हँुदा मेरो जीवनसाथी उषा सुवेदीको पनि चित्रमा लगाव बढेको छ । बन्दाबन्दीले बेकाम बस्नुभन्दा सिर्जनात्मक हुन सिकायो । उनले चराको सिरिजमा काम गरिरहेकी छन् । उनले यसबीचमा अठारवटा चराहरूका चित्र बनाइसकिन् । उनी यतिका वर्ष नसिकेको कलाको काम बन्दाबन्दीमा सिकेको भन्दै दंग छन् । कोरोना कहर र जनजीवन सामान्य भएपछि वैभवको साइकल सिरिज र उषाको बर्ड सिरिजको एग्जिवेसन गरिदिने सोच छ ।
००००

कोहलपुर कृषिचोकस्थित प्याडाइज मन्टेवरी तथा श्रोत केन्द्रको सञ्चालक सीता पौडेलले बन्दाबन्दीबाट सबै प्रभावित भएकाले आफू पनि अछुतो रहन नसकेको बताउँदै महामारीले धेरै कुराको ज्ञान, अनुभव र चिन्तन गर्ने मौका मिलेको बताइन् । उनले भनिन्, ‘आफूले जानेको सीपलाई निरन्तरता दिन पाएकी छु । क्राफ्ट मेरो पेशासँग जोडिएकाले मेरो पहिचान सँगसँगै हवि पनि हो । यतिबेला क्राफ्टका काममा विशेष अध्ययन गर्दै उत्पादनमा सक्रिय छु ।’

नेपालगञ्जका अग्रज कलाकारद्वय श्यामानन्द सिंह र विष्णु कुम्हाल पनि सिर्जनामै सक्रिय छन् । विशेषगरी दुवैजनाले अवधी कलामा विशेष दख्खल राख्छन् । तर दुवैमा भिन्नता छ । श्यामानन्द अवधी लोककलासँगै क्राफ्टमा परिचित छन् भने विष्णु अवधी कलासँगै समाजसेवी हुन् । खजुरा गाउँपालिका खजुरा बजारका कलाकार डिबी भण्डारी लकडाउनमा आफ्नो कलाकारितमा पुनःअभ्यास भइरहेको बताए । उनले कोरोना कहरले नागरिक जनजीवनमा पारेको प्रभावलाई क्यानभासमा उतारेको बताए । ट्याटु कलामा पारंगत डिबी पनि कला क्याम्पस अध्ययन गरेका बाँकेका प्रतिभाशाली कलाकार हुन् ।

चित्रकलामा स्नातकोत्तर गरेका कोहलपुरका अर्का कलाकार सुरज सुवेदी पनि चित्र सिर्जनामै व्यस्त छन् । बन्दाबन्दीलाई कला सिर्जनाको अवसरको रुपमा सदुपयोग गरिरहेको सुनाउँदै सुवेदीले कलामार्फत जीवन र जगतका विविध पाटालाई उधिनेको बताए । कोहलपुरमा रहेको ललितकला पाठशालाका मुख्य प्रशिक्षकसमेत रहेका सुवेदी भन्छन्, ‘बन्दाबन्दीकै सेरोफेरोमा मैले पनि केही चित्र सिर्जना गर्न भ्याए । लकडाउन अगाडि लिएको अर्डरका केही चित्र पनि बनाएर सके ।’

बाँकेकै अर्का कलाकार कवि रसिक राजले बन्दाबन्दीको त्रासमा पनि आफू सिर्जनकर्ममा लागेको बताए । उनले भने, ‘यो बीचमा आममानिसमा एक किसिमको संत्रास देखियो । त्यसबाट अछुतो कोही रहेनन् । त्यै पनि मैले काम भने गरिरहेको छु । उनले केही न केही रचनात्मक, सिर्जनात्मक र प्रतिरोधात्मक शक्ति सिर्जनाले दिने बताउँदै भने, ‘एउटा कलाकारले के गर्नसक्छ भन्दा त्यो त कला नै हो । अवश्य पनि कोरोना कहरमा सिर्जनाका दुईवटा पाटा चित्र र काव्य रचनामा म सक्रियताका साथ लागेको छु ।’

००००


कोरोनाका कारण ११ चैतदेखि देशमा लगाइएको बन्दाबन्दीका बीच मैले एक प्रतिष्ठित होटलको अर्डरको काम एकाग्र भएर गरिरहेको छु । यो समयमा होटलको अर्डरका २० थान पेन्टिङसहित अन्य ७ वटामा काम भ्याए । पाँचवटा पुस्तकको आवरण तयार गरे । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार महानन्द ढकालको मुक्तक संग्रह र अर्को एक मुक्तक संग्रहका मुक्तकहरूमा करिब दुई सयको हाराहारी भावचित्रहरू सबै तयारीमा छन् ।

बन्दाबन्दीमा बाहिरी जगत प्रभावित भए पनि मेरो सिर्जना चलिरहेको छ । हुनत् बन्दाबन्दी स्रष्टाका लागि एक अवसर बनेको छ । भनिन्छ, हरेक बिपत्तिले अवसर लिएर आउँछ । अविभावक र बालबच्चाप्रति समीपता, परिवारिक मेलमिलाप, सामाजिक दायित्व, घरगोठ शृंगार, सरसफाई, करेसाखेती, बाँझो जमिन खनजोत, आत्मसमीक्षा, आत्माशुद्धी, नियमित व्यायाम, प्रणयाम, चिन्तन, अध्ययन, लेखनजस्ता कुरामा अवसर ल्याएको छ ।

 

लेखक: हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका कला विभाग प्रमुख र ललितकला पाठशाला कोहलपुर, बाँकेका निर्देशक हुन् ।

प्रतिक्रिया