कविता- भन न आमा !

                   संगीता सुवेदी

सास्तीले घेर्छ सिमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलात्कारी ढुकेर बस्छ क्वारेन्टाइनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो भग्नावशेषमा

घरबाट गरिबीले लखेट्यो
मुग्लानबाट महामारीले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसें

परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरबाटै लुटियो आमा
माइती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाई कुकुर जति पनि
मेरा भएनन् आमा

उज्यालो खोज्दै हिँड्दा
अँधेरो आँगनमा आइपुगें म
रक्षक नै भक्षक भएपछि
मेरो अस्मिताको
रक्षा गर्न सकिन आमा

मसँग मेरो लास मात्र बाँकी छ
घर लैजाउ कि चिहानमा
मसँग अँधेरो रातमात्र बाँकी छ
लामो निन्द्रा निदाउँ कि
म फेरी पर्खुं बिहानमा
भन न आमा
म घर फर्कु कि चिहानमा ।

कपिलवस्तु

प्रतिक्रिया