कविता ‘के भनौं’

              तेजविलास अधिकारी

मेरो वेसुद्धीको फाइदा
निरन्तर उठाएर
शासक बन्यौ ।
तिमीले गर्ने प्रत्येक सम्बोधन
ध्यान दिएर सुन्ने म
रासन विहीन हुँदा
राज्यको भान्से तिमी
निदाइ रहयौ ।
सताइएका हामीलाई
देखाएर संविधानको
बाँच्न पाउने वाला धारा
तिमीले भन्यौ,
अवस्थामा सुधार ल्याउनु पर्छ
खै !
थुप्रै समस्याको
भत्किएको पर्खालमुनि
झस्किएको मनको
उपचार कहाँ खोज्नु ?
खै !
बाटो विहीन म
रमिते जस्तो
कुन बाटो रोजौ ?
भन्दैछौ जनताको व्यवस्था
गर्छौ लहडी निर्णय ।
बन्यो मूल कानुन
प्रयोग गर्दै आफुखुसी

विचरा कागजको ठेली बाल्दैन
बगरेले धनी हुन
बध गरेजस्तै
तिमी
ए!नेतृत्व भनौदो पात्र
गरिरहेछौ काजगी ब्याख्या
खेलिरहेछौ शब्द सञ्जालमा ।
श्रमजीवीको केही
अस्तित्व नबचेको
यो समय
गास ,बाँस र कपासको विषय
दस्तावेजमा मात्र सीमित
राज्यमा बिचौलिया मोटाउने
कामदार बौलाउने स्थितिले
जनमतको अपमान भएको छ ।
खै!के भनौं
मन हुडलिएर आउँछ ।
यो समय ।

प्रतिक्रिया