‘बाटो छेकेर अन्धाधुन्द आक्रमण’

जाजरकोट । तीन जनाको शव बरामद भएको पश्चिम रुकुमको चौरजहारी घटनामा स्थानीय गाँउलेको समुह नै सहभागी भएको खुलेको छ । सो गाँउलेको समुहले नियोजित रुपमा घर फर्किदै गरेका युवाहरुको समुहलाई तीन तिरबाट आक्रमण गरेको खुलेको हो ।

घटनामा बाँचेकाले दिएको बयान अनुसार उनिहरुलाई ५०÷६० जनाको समुहले ढुंगा, हँसिया र चिरपटले हान्दै खेदाएको थियो । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको प्रेमलाई विवाहमा परिणत गर्न गएका १८ जना युवाको टोलीलाई चौरजहारी नगरपालिका–१ सोतीका गाउँलेले लखेटेका हुन् । कथित माथिल्लो जातकी युवतिसँग प्रेम गरेर लैजान लागेको निँहुमा कुटपिट भएको हो । केटीको आग्रह अनुसार उनलाई लिन सो टोली त्यहा पुगेको थियो ।

गृहमन्त्रालयद्वारा छानबिन समिति गठन, संसदीय टोली गठन गर्न कांग्रेसको माग

टोलीमा रहेका सुदीप खड्काले दिएको जानकारी अनुसार पैदल हिँडेर सो समुह साँझ करिब ५ बजे सोती पुगेको थियो । बाटोमा केटीसँग टेलिफोनमा पटक पटक कुरा गर्दै उनको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको उनले बताए । ‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।

खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस, काफल खानुहोस’ भनेर अलमल्याए । यो व्यबहार षड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर जादै गर्दा गाउँलेको समुहले त्यहा उनिलाई भेटाएको थियो । ५०÷६० जनाको समूह आएका गाउँलेले ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चिरपटले हान्न थाले,’ उनले कहालीलाग्दो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’

युवाको समूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आक्रमणको तारो उनै बने । सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म लखेटेर नवराजको हत्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई बचाउनुस, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन,’ उनले भने, ‘भूईँमा लडाएर अन्धाधुन्द कुट्न थाले ।’ त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए । ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरेका उनको भनाइ छ ।

छानबिन समिति गठन
गृहमन्त्री रामबहादुर थापाले यो अमानविय घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकलाई छुट्टा छुट्टै सम्वोधन गर्दै उनले घटनाको निष्पक्ष छानविन हुने बताए ।

मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेको छ । दुई साताको समय दिएर बनाएको समितिलाई छिटो प्रतिवेदन बुझाउन भनिएको पनि उनले जानकारी संसदमा दिए । तर, सांसदले मानवियतामाथीकै आक्रमण भएको भन्दै दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए । उनिहरुले संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सो वडाका वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको भन्दै जाजरकोट जिल्ला प्रहरी कार्यालयमा १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता पनि भएको छ ।

प्रतिक्रिया