कोरोनाले तीन लाख ४३ हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ४३ हजार ६ सय आठ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ। स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन्। त्यहाँ २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ।

इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन्। भारतमा १ लाख ३१ हजार २ सय २३ जना संक्रमित रहेका छन भने त्यहाँ ३८ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

भाइरस संक्रमित विश्वभरका २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन्। विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया