१७ महिने बालकमा भेटियो कालाजार

बाजुरा । जगन्नाथ गाउँपालिका– ५ गोत्रिकाका एक बालकलाई कालाजार भएको पुष्टि भएको छ । मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रिकाका १७ महिने बालक देविन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा. राजुराज जोशीले जानकारी दिए ।

करीब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए । बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा परीक्षण गर्दा कालाजार भएको पुष्टि भएको हो ।

कालाजारका बिरामीलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने हुँदा बाजुरामा उक्त सेवा नभएपछि थप उपचारका लागि धनगढी रिफर गरीएको डा. जोशीले बताए । विशेष गरी कालाजार सेन्डफलाई (भुसुना,) ले टोकेपछि घरिघरी ज्वरो आउने, पेट सुनिने, पेट दुख्ने जस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

कालाजारबाट वच्नका लागि नियमित झुलको प्रयोग गर्ने, हात खुट्टा छोप्ने खालका कपडा लगाउनपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टी क्षेत्रमा कालाजारका अरु पनि केहि बिरामी हुन सक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाँउ–गाँउमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया