कपिलवस्तुमा पुग्यो कन्ट्रयाक्ट ट्रेसिङका लागि चिकित्सकको टोली

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मायादेवी– २ अभिराव र –८ बिजुवाका १८ वर्षीय दुई तथा शुद्धोधन– ६ कर्माका १७ वर्षीय एक युवामा कोरोना संक्रमण देखिएको हो । यसअघि मायादेवी र शुद्धोधनका दुई युवकमा संक्रमण देखिएको थियो । संक्रमित तीनै जना मुम्बईको फरकफरक कम्पनीमा काम गर्दै आएका थिए । फरक ठाउँमा काम गर्ने भए पनि नेपाल फर्किदा सँगै आएका थिए ।

समूहमा कोको थिए भन्ने कुरा अझै खुलेको छैन । शुद्धोधनका युवा सीधै भारतबाट मायादेवीको क्वारेन्टिनमा आएर बसेको वडाध्यक्ष विजयबहादुर यादवले बताए । ती युवकसँगै मायादेवी –ं ८ विजुवाका अर्का युवकसँगै आएको बताइएको छ । ती युवक घरमा परिवारसँग बसेर खाना खाएर क्वारेन्टिनमा गएको वडा नं ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए ।

अहिले परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा लैजाने र थप जानकारी लिने कार्य भइरहेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए । तीनै जनाको स्वास्थ्यावस्था सामान्य रहेको मायादेवीका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलगायत पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. यदुचन्द्र घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली कपिलवस्तु पुगेको छ ।

प्रतिक्रिया