हेलिकप्टरबाट उद्धारपछि गर्भवतीको अवस्था सामान्य

प्युठान । रक्तश्राव भएपछि जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक गर्भवतीको अवस्था सामान्य बनेको छ । सिभिल अस्पताल काठमाडौंमा भर्ना भएकी मल्लरानी गाउँपालिका–३ बर्बोट निवासी ३० वर्षीया शिवा पोख्रेलको अवस्था अहिले सामान्य रहेको उनका देवर एवं डा. राजेन्द्र पौडेलले जानकारी दिए ।

गर्भवती शिवालाई रक्तश्राव भएपछि प्युठान अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयबाट स्विकृति लिएर हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । पाठेघरको मुखमा साल बसेको कारणले एम्बुलेन्सबाट लैजान पनि सम्भव नभएपछि हेलिकप्टर चार्टर गर्नुपरेको हो ।

अहिले रगत बग्न बन्द भएकाले अप्रेशन गरिएको छैन । गर्भवतीको अवस्था अहिले सामान्य रहेको छ । काठमाडौं पुर्याएपछि गर्भवतीको जोखिम कम भएको डा. पौडेलले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया