रोल्पा विस्फोटका पीडित परिवारलाई द्वन्द पीडित सरह राहत दिन माग

प्युठान । रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम विस्फोट भइ चार जना बालबालिकाको मृत्यु भएका पिडित परिवारलाइ द्वन्द पीडित सरहको राहत दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताले माग गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य गोकुल घर्तिले विगत दश वर्षे द्वन्दबाट रोल्पा जिल्ला अत्यधिक प्रभावित भएको भन्दै जिल्लावासीको शान्तिपूर्ण ढंगले जीवन बाच्ने कुराको सुनिश्चितता गर्न माग गरेका हुन् । शुक्रबार उनले शोक वक्तव्य जारी गर्दै बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले मृतक बालबालिकाको परिवारलाई द्वन्द पीडित सरहको राहत तथा अन्य सुविधा उपलब्ध गराउँनसमेत माग गरेका छन् । त्रिवेणी गाउँपालिका– ७ मैतेकातिनामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखिराम डाँगीको विस्फोटमा परि ज्यान गएको हो ।

विस्फोटका दोषिलाई कारबाही गर्न माग

रोल्पामा बिहीबार भएको बम विस्फोटमा चार बालबालिकाको मृत्युको घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसले पनि माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्दको घाउमा खाटो बस्न बाँकी रहेको बेला यस्तो घटना हुनु अत्यन्तै दुःखद भएको बताएका छन् ।

त्यसैगरी, राष्ट्रिय जनमोर्चाले द्वन्दकालका विस्फोटक पदार्थको छानवीन गरी अवैध सामग्री हटाउन माग गरेको छ । सरकार र सम्बन्धीत राजनीतिक समूहले ध्यान नदिँदा त्यस प्रकारको घटना भएको जनमोर्चाका प्रवक्त एवं सांसद दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया