विपदमा उपयोगी बन्दै सामुदायिक विद्यालय

पोखरा । विगत केही वर्षयता सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका अवस्थामा सबैतिर उठ्ने प्रश्न हो, सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारमा यत्रो लगानी किन ? कतिपय सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरीयता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणको औचित्य पुष्टि नगरेका पनि होइनन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणसँगै यसबाट जोगिनका लागि क्वारेन्टाइनको खोजी भइरहेको अवस्थामा यतिखेर सामुदायिक विद्यालयको भवन बहुउपयोगी बन्दै गएका छन् । सामुदायिक विद्यालयका भवन यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिजस्तै भूकम्प, बाढी पहिरोलगायतमा उपयोग हुँदै आएका थिए ।

विश्वव्यापी फैलिएको कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रत्येक स्थानीय तहले विभिन्न सरकारी एवं गैर सरकारीसहित सामुदायिक विद्यालयका भवनमा यतिखेर क्वारेन्टाइन स्थापना गरिएको छ । विशेषतः विभिन्न विदेशी मुलुकबाट हालै आएका सर्वसाधारणलाई लक्षित गरी क्वारेन्टाइन निर्माण गरिएको छ । कास्की जिल्लाका पाँच स्थानीय तहअन्तर्गत पोखरा महानगरपालिकाबाहेक रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका कतिपय सामुदायिक विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्रभित्रका कूल सात स्थानमा क्वारेन्टाइन स्थापना गरिएकामा माछापुच्छे« माध्यमिक विद्यालय ढिकुरपोखरीसहित प्रगतिशील मावि सल्यान, सङ्गम मावि लुम्ले, वीरेठाँटी मावि दाङसिङ र मेश्रमबराह मावि, घान्द्रुकमा क्वारेन्टाइन राखिएको हो । गाउँपालिकाले हालै विदेशबाट आएका ३४ लाई क्वारेन्टाइनमा राखिएकोमा उनीहरूले १४ दिन अवधि भुक्तान गरिसकेको समयावधि भुक्तान गर्न बाँकी दुई जना पनि समय भुक्तान गरी आजै घर फर्कन लागेको बताइएको छ ।

कोरोनाको संक्रमण रोकथाम गर्न पालिकाभित्रै १९ गते बुधबारदेखि प्रवेश निषेध गरेको कास्कीकै रुपा गाउँपालिकाले रामकोट माविमा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गाउँपालिकाले देउरालीस्थित सामुदायिक वन उपभोक्ता समूहको भवनमा बनाएको क्वारेन्टाइनमा राखिएका २४ मध्ये अधिकांशले न्यूनतम १४ दिन भुक्तानी गरिसकेका छन् भने आठ जना उक्त समय भुक्तानी गर्न बाँकी रहेको छ ।

वडा नं १, ३, ५, ६ र ७ मा होम क्वारेन्टाइनमा १४ जना रहेको र उनीहरूको नियमित स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण हुँदै आएको उनले जानकारी दिए । रामकोट माविमा १७ श्ययाको क्वारेन्टाइन तयार गरिएको जनाउँदै उनले विपद् घडीमा सामुदायिक विद्यालय उपयोगी बन्दै आएको बताए। कास्कीकै मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले गाउँपालिकाभित्र ५२ सामुदायिक विद्यालय रहेको जानकारी दिँदै आवश्यकता आधारमा त्यहाँ क्वारेन्टाइनको व्यवस्था गरिने बताए । उनका अनुसार गाउँपालिकाको केन्द्र याङ्जाकोटस्थित सीताराम माविमा १० श्यया क्षमताको क्वारेन्टाइन राखिएको छ ।

‘प्राकृतिक विपत्तिमा सामुदायिक विद्यालयका भवनले सर्वसाधारणलाई ठूलै राहत पुर्याउँदै आएका छन्, विश्वव्यापी महामारीको यो अवस्थामा यी विद्यालयका भवनको भरपुर उपयोग गरिन्छ’, उनले भने । अहिलेसम्म पालिकामा वडा नंं ११ मा दुईजना विदेशबाट आएको पाइएको छ । उनीहरूलाई घरमै निगरानीमा राखिएको उनले जानकारी दिए।

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार गाउँपालिकामा कूल ४३ वटा सामुदायिक विद्यालय रहेका छन् । यहाँको लाहाचोकस्थित बहुउद्देश्यीय सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण गरिएको उनले जानकारी दिए । कतिपय विद्यालयमा विद्युत्, पानी, शौचालय र बाथरुमलगायतका भौतिक पूर्वाधारको समस्या रहेका कारण क्वारेन्टाइन राख्न भने समस्या भएको उनको भनाइ छ ।

‘भूकम्प, बाढीपहिरोलगायतका विपत्तिमा सामुदायिक विद्यालयमा आश्रयस्थल बने पनि पर्याप्त भौतिक पूर्वाधार नभएका कारण अहिले क्वारेन्टाइन राख्नका लागि सकेसम्म अरु विकल्प खोजेका छौँ’, उनले भने । उनका अनुसार हालै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा नै राख्न प्रोत्साहित गरिएको छ । गाउँपालिकाभित्र ५५ स्वास्थ्यकर्मी रहे पनि पिपीइ, थर्मोमिटर गन लगायतका सामग्री अभाव हुँदा समस्या भएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणलाई भित्रन नदिने उद्देश्यका साथ चैत ४ गतेभित्र विद्यालयका वार्षिक परीक्षा सक्न निर्देशन दिएसँगै विद्यालयले परीक्षा सकेको र एसइई परीक्षा पनि स्थगन भएका कारण विद्यमान विपद्को अवस्थामा विद्यालय उपयोगी बनेका हुन् ।

प्रतिक्रिया