माइकिङ गर्दै गाउँ पुग्यो प्रहरी

प्युठान । प्युठान नगरपालिका मरन्ठाना प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टीका कुँवर बिहान उठेर सबैलाई सामेल हुन आदेश गर्छन् । अनि कार्य बिभाजन गर्छन् आफू एकजना सिपाहीसँगै मोटरसाइकलमा डिजे बोकेर गाउँ गाउँमा खटिन्छन् ।

सर्वसाधारणलाई लकडाउनका बेला घरबाट बाहिर नआउन सुरक्षित भएर बस्न उनले हाते माइक समाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भीडभाडसँगै होहल्ला नगर्न आग्रह गर्दै माइकिङ गर्छन् । वैदेशिक रोजगारीबाट आएका दाजुभाइलाई परिवारको सम्पर्क नहुने गरी १४ सुरक्षित तरिकाले बस्न अनुरोध गर्ने उनको दैनिक जस्तै बनेको छ ।

देशभर नेपाल सरकारले लकडाउन गरेको आज सात दिन भइसकेको छ । सरकारले आइतबार फेरि एक हप्ता लकडाउनको मिति थप गरेको छ । त्यसैलाई मध्यनजर गर्दै राति अबेरसम्म खटिने प्रहरीको टोलीले बजार क्षेत्र गाउँटोलमा समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल नगर्न अनुरोधसँगै माइकिङ गर्दै स्थानीयलाई सूचित गरेको प्रहरी चौकी प्रमुख कुँवरले बताए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निर्देशन अनुसार हामी बजार गाउँ बस्तीमा परिचालित हुन्छौ’, ‘लकडाउन उल्लंघन गर्नेलाई पहिला सम्झाइ बुझाइ गर्छौँ, अटेर गरे नियन्त्रणमा समेत लिँदैछौँ ।’ ‘जनचेतनाको लागि गस्तीका बेला नियमित माइकिङ गरेर घर बाहिर ननिस्कन भनिरहेका छौं’, मरन्ठाना प्रहरी चौकीका प्रमुख टीका कुँवरले भने, ‘माइकिङका लागि जनचेतना सम्बन्धि जिङ्गल जनचेतना सम्बन्धि गितनै बनाएर गाउँगाउँ गइरहेका छौँ ।’

यस्ले गर्दा गाउँघरमा हुने अन्य घटनामासमेत कमि आएको उनले बताए । यसै क्रममा घरेलु मदिरा नियन्त्रण घरेलु हिंसा बालबिवाह न्यूनीकरण लगाएतको बिषयमा स्थानीय जनतालाई सुसूचित गर्दै आएको उनले बताए । प्युठान नगरपालिका ९ र १० वडाका सबै गाउँटोल र झिमरुक गाउँपालिकाको वडा नम्बर ६ का सबै गाउँ टोल बस्तीमा गएर जनतालाई कोरोना भाइरसबारे सुसूचित गर्ने गरेको बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया