प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

एजेन्सी, लन्डन । इंग्लिस फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियर लिगसहित इंग्ल्यान्डका फुटबल गतिविधि अप्रिल ३० सम्मको लागि स्थगित गर्दै यो सिजन बाँकी खेलहरू सकाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रिमियर लिगको बैठकले प्रिमियर लिगसहित महिला व्यावसायिक लिग, च्याम्पियनसिपसहितका फुटबल गतिविधि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण ३० अप्रिलसम्म स्थगित गरिएको उल्लेख गरेको छ ।

यसअघि एफएले ४ अप्रिलसम्म खेल स्थगित गरेको थियो । स्थिति सामान्य नभएपछि एफएले अप्रिल ४ नकुर्दै थप दिनलाई खेल स्थगित गरेको हो । झन्डै डेढ महिना लिग स्थगित भएसँगै अब एफएले लिग १ जुनमा सम्मको समयसीमा तोकेको छ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण ९ मार्चयता प्रिमियर लिगका खेल हुन सकेको छैन । एक साताअघि म्यानचेस्टर सिटी र आर्सनलबीचको खेलयता प्रिमियर लिगका एक चरणका खेल स्थगित भइसकेका छन् ।

प्रिमियर लिगका प्रमुख रिचर्ड मास्टर्सले लिग अप्रिल अन्तिमसम्म स्थगित गरिएको र १ जुनमा सकाउने तयारी भइरहेको बताएका छन् । प्रिमियर लिगको २९औं चरणको खेल जारी रहँदा मर्सिसाइड क्लब लिभरपुल करिब ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि नजिक छ ।
लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । बेलायती सञ्चार माध्यमहरूले लिग सुचारू हुन नसकेको अवस्थामा लिभरपुललाई उपाधि दिलाउनु पर्ने बताएका थिए ।

लिग सुरु हुने भएसँगै लिभरपुलले उपाधिका लागि थप दुई खेल कुर्नुपर्ने भएको छ । चेल्सीका कलुम हड्सन ओडोइ र आर्सनलका प्रशिक्षकमा कोरोना भाइरसको पुष्टि भएसँगै लिग स्थगित भएको थियो । त्यसपछि लेस्टरका खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ‘हामी एक छौँ । यो सिजनको सबै खेल सकाउने हाम्रो तयारी छ । हामी यसलाई सकारात्मक बनाउनेतर्फ अघि बढिरहेका छौं । हामी सरकारको सल्लाहमा नै अघि बढिरहेका छौं ।’ प्रिमियर लिगका प्रमुख रिचर्ड मास्टर्सले भने, ‘स्थिति सहजतर्फ उन्मुख भइरहेको छ ।’ युइएफले यसै जुन–जुलाईमा तय भएको युरोकप २०२० अर्को एक वर्षको लागि स्थगित गरिसकेको छ ।

प्रतिक्रिया