कोरोनाको मारमा विश्व खेलकुद

काठमाडौं । गत डिसेम्बरमा छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन । यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र युरोपका विभिन्न देशमा युरोकप १२ जुन देखि १२ जुलाईसम्म हुँदैछ ।

यसका साथै अन्य साना ठूला वार्षिक खेलकुद प्रतियोगिताहरू पनि भइरहेका थिए । तर कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व खेलकुदमा ब्रेक लागेको छ । कुनै पनि देशले निर्वाध रूपमा खेल गतिविधि सञ्चालन गर्ने अवस्था छैन । धेरै दर्शक जम्मा हुने भएकोले भिडभाड नहोस् भनेर र खेल गतिविधि रोकिएका हुन् । केही खेलहरू दर्शकबिनै खेलाउने प्रयास पनि भएको थियो । तर, खेलाडीमै कोरोना संक्रमण देखिन थालेकाले अहिले त्यो प्रयास पनि रोकिएको छ ।

संक्रमणको आशंकामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो केही दिनदेखि क्वारेन्टाइनमा छन् । अर्का स्टार लिओनल मेसी पनि घरमै क्वारेन्टाइनमा बसेका छन् । इंग्ल्यान्ड, स्पेन, जर्मनी, इटली र फ्रान्सको लिग विश्वमै उत्कृष्ट लिग हो । यसलाई युरोपको टप फाइभ लिगमा राखिन्छ । इंग्ल्याण्डको प्रिमियर लिगसँगै एफए कप ईएफएल सबै स्थगित भएको छ । यस्तै स्पेनको ला लिगा, फ्रान्सको लिग वान र लिग टु, जर्मनीको बुन्डेसलिगा पनि रोकिएका छन् ।

यी पाँचवटै लिगमा विश्वका उत्कृष्ट क्लब र स्टार खेलाडी छन् । कोरोनाको कारण सबैभन्दा पहिले लिग स्थगित गर्ने भने इटली हो । उसले सबै खेलकुद गतिविधि अप्रिल ३ सम्मको लागि स्थगित गरेको छ । यसैगरी युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग, युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगका अर्को साताका खेलहरू पनि स्थगित गरिएको छ । हरेक चार वर्षमा आयोजना हुने युरोकप यस पटक युरोपको १२ देशमा आयोजना गर्ने तय छ । तर कोरोना संक्रमणको त्रासका कारण युरो कप एक वर्ष पछि सर्ने सम्भावना छ । युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसँग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।

क्रिकेटमा पनि असर
विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना त्रासको मारमा परेको छ । मार्च २९ देखि हुने तय भएको आईपीएलको १३ औँ संस्करण दुई साता पछि सरेको छ । कोरोनाको कारण भारत सरकारले अप्रिल १५ सम्म विदेशीलाई भिसामा रोक लगाएको छ । आईपीएलमा विश्वभरका स्टार खेलाडी भेला हुन्छन् । त्यसैले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि आईपीएलसँग छलफल गरेर अब अप्रिल १५ देखि सुरु गर्नेगरी मिति सारेको छ । तर त्यो समयमा पनि कसरी गर्ने भन्ने अन्योल छ । दर्शकको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै टिभीमा मात्रै लाइभ गर्नेबारे समेत छलफल भएको छ ।

यही मार्च १४ देखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने तय भएको नेपालकै ठूलो खेलकुद प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । क्रिस गेलसहित विश्व क्रिकेटका हस्तीसमेत आउने पक्का भइसकेको ईपीएलमा अब तोकिएको अर्को मितिमा विदेशी खेलाडी आउने समय नमिल्न सक्छ ।

ठूला प्रतियोगिता मात्र होइन विभिन्न क्रिकेट सिरिजसमेत स्थगित भइसकेको छ । आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गतको ट्राई सिरिज पनि अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले स्थगित गरेको छ । यस्तै इंग्ल्यान्ड र श्रीलंकाबीचको टेस्ट सिरिज पनि स्थगित भएको छ ।

भारत र दक्षिण अप्रिकाबीच खाली स्टेडियममा खेलाउने भनिएको एकदिवसीय अन्तर्रा्ष्ट्रिय श्रृंखला (ओडिआई सिरिज) को बाँकी दुई खेल रद्ध भएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको चापेल हाड्ली सिरिजका बाँकी दुई खेल पनि रद्ध भएको छ । सिरिजको पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । यसै महिनाको अन्तिममा यी दुई राष्ट्रबीच हुने भनिएको टी२० सिरिज पनि नहुने भएको छ ।

प्रतिक्रिया