नागार्जुन सेमिफाइनलमा

बैतडी । साबिक बिजेता दशरथचन्द नगरपालिका ५ दशरथचन्दलाई ७ विकेटले पाखा लगाउँदै वडा नं ११ नागार्जुन, बैतडीमा जारी मेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दुई खेलमा पराजित भएसँगै गत वर्षको मेयर कप बिजेता दशरथचन्द लिग चरणबाटै बाहिरिएको छ। आइतबार बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द १४.४ ओभरमा ७५ रनमा समेटियो। जसमा सुभम चन्दले सर्वा्धिक १९ रन बनाए।

नागार्जुनका मदन चन्दले ४ विकेट हात पारे। ७६ रनको लक्ष्य पन्छाएको नागार्जुनले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। जसमा प्रकाश चन्दले २३ र राम चन्दले २० रनको योगदान गरे। दशरथचन्दका लागि सुभम भन्द र नरेश रावलले १र१ विकेट लिए। नागार्जुनका मदन चन्द म्यान अफ द म्याच चुनिएका नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।

यस्तै आइतबार नै सम्पन्न दोस्रो खेलमा दशरथचन्द नगरपालिका १ गुरुखोलालाई १० विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका १० बाराकोटले पनि प्रतियोगितामा सुखद सुरुवात गरेको छ। पहिला ब्याटिंग गरेको गुरुखोलाले २६ रन बनायो। जसमा लक्ष्मण भट्टले सर्वाधिक ५ रन जोडे।

बाराकोटका लागि दिनेश बुडालले २ विकेट झारे। २७ रनको झिनो लक्ष्य बाराकोटले ३.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। बाराकोटका लागि किसन बुडालले १५ तथा डम्बर बुडालले ११ रन हिर्काए। दिनेश बुडालले म्यान अफ द म्याच घोषित भए। गुरुखोला पनि लगातार दोस्रो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट घर फर्किएको छ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा जारी प्रतियोगितामा ११ टोली सहभागी रहेका छन्। प्रतियोगिताको विजेताले ७५ हजार ,उपविजेताले ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। यस्तै म्यान अफ द सिरिजलाई १० हजार पुरस्कार दिइनेछ।

प्रतिक्रिया