ओसिस इनिङ अन्तरले विजयी

काठमाडौं । सचिन शर्मा र सुमित श्रेष्ठको शतकमा ओसिस क्रिकेट एकेडेमीले वालुवाटार क्रिकेट क्लबलाई १० रनको इनिङ अन्तरले पराजित गरेको छ । बालुवाटारले वुधबार ५० ओभरमा २ सय ६५ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

वालुवाटरका दिनेशजंग बुढामगरले १ सय २ बलमा १७ चौका र ४ छक्कासहित १ सय २८ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर अभिनाश सिंह ४५, प्रशान्त पन्डित १५, नविन तामाङ २६, आयुष पौडेल १२ र पुजन गुरुङ ११ रनमा आउट भए । ओसिसका स्वरुप श्रेष्ठले ५, सचिन शर्मा २, सुमित श्रेष्ठ र रोशन पुलामीले १–१ विकेट लिए ।

ओसिसले ६० ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४७ रन बनाउँदै पहिलो इनिङको समाप्तीको घोषणा गर्यो । उसका सचिन शर्मा १ सय ४ बलमा १९ चौका सहित १ सय १८ रनमा रन आउट भए । त्यस्तै सुमित श्रेष्ठले ७७ बलमा १८ चौका सहित १ सय ७ रनको शतकीय इनिङ खेलेपछि ओसिसले बलियो अग्रता कायम गरेको थियो । आशिफ झा ४५ बलमा १३ चौका सहित ६० रनमा आउट भए ।

सोनु अन्सारीले ५४ बलमा ११ चौका र ३ छक्का सहित ७९ रनको आक्रामक इनिङ खेले । सन्दीप बस्नेत २३, रोशन पुलामी ११ रनमा आउट हुँदा सागर भण्डारी ३९ रनमा अविजित रहे । बालुवाटारका सुरेश बस्नेत ३, नविन तामाङ २ र राजन जिसीले १ विकेट लिए । समग्रमा पहिलो इनिङमा वालुवाटार १ सय ८२ रनले पछि परेको थियो ।

बालुवाटार दोस्रो इनिङमा ४९ ओभरमा १ सय ७२ रनमा अल आउट हुन पुग्यो । उसका नवीन तामाङले ६८ रन जोड्नबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ओसिसका सचिन शर्माले ५ र सुमित श्रेष्ठले ३ विकेट लिँदै इनिङ अन्तरको जित पक्का गरे ।

प्रतिक्रिया