ठग नै लेखा समितिका ‘विज्ञ’ !

काठमाडौं । सेक्युरिटी प्रिन्टिङको विज्ञका रूपमा घुस प्रकरणमा जोडिएका मिश्र संसदीय समितिको ‘विज्ञ’ रहेको खुलेको छ ।

त्यसअघि उनले आफूले आफूलाई स्विस कम्पनीको नेपाली एजेन्टका रूपमा प्रस्तुत गरेका थिए । तर, स्विस दूतावासले नै आफू र आफ्ना देशका कम्पनीको कुनै पनि नेपाली एजेन्ट नरहेको विज्ञप्तिबाट स्पष्ट पारिदिएपछि उनको ठगी धन्दा खुलेको हो ।

सो विज्ञप्तीसँगै संसद् जस्तो गरिमामय संस्थामा ठगलाई नै विज्ञ बनाएर उपस्थित गराउने प्रति नैतिकताका साथ ठूलो प्रश्न उठेको छ । प्रेस खरिदबारे लेखा समितिको पुष २१ गते बसेको बैठकमा मिश्र विज्ञका रूपमा प्रस्तुत भएका थिए ।

समितिका सभापति भरत शाहले उनलाई विज्ञका रुपमा बैठकमा ल्याएका थिए । बैठकमा मिश्रले तथ्यगत स्पष्टता नराखी आरोप मात्रै लगाएका थिए । विज्ञका रूपमा प्रस्तुत गराइएका मिश्रले आफ्नो नाम बताए पनि पेसागत परिचय खुलाउन चाहेका थिएनन् । तर, उनी मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन् ।

प्रवेश श्रेष्ठ नामक व्यक्तिले दिएको उजुरीलाई आधार मानेर समितिले त्यस दिन बैठक डाकेको थियो । त्यसमा विदेशीले सामान खरिद गरेबापत दिने कमिसनको चक्करमा सस्तोमा पाउने उपकरण महँगोमा किन्न लागेको आरोप थियो । उजुरीमा उल्लिखित आरोपलाई आधार लिई सुरु भएको बैठकमा मिश्रले तर्क प्रस्तुत गर्नै सकेका थिएनन् ।

मिश्रको आरोप मात्रै सुनेपछि सांसद सूर्य पाठकले मिश्रको विज्ञतामाथि नै औँला ठड्याउँदै प्रश्न गरेका थिए, ‘हाम्रो छलफलको चुरो मिलिरहेको छैन । तपाईको विज्ञताको प्रमाणपत्र के हो ? सरकारले किन्न ल्याएको मेसिनको गुणस्तर के हो ? त्यसको बजार मूल्य कति छ ? प्रमाण उल्लेख गर्नुपर्यो । नत्र त जसले जे निवेदन ल्याउँछ, त्यसलाई सोझै समितिमा देखाएर निर्णय गर्न मिल्दैन ।’ त्यसक्रममा उनले कुनै जवाफ दिन सकेका थिएनन् ।

अडियो टेप प्रकरण आएपछि त्यसमा उनले आफु स्विस कम्पनीको एजेन्ट भएको उल्लेख गरेका छन् । तर, स्वीस दूतावासले त्यसको ठाडै प्रतिवाद गरेपछि उनी संसदीय समितिलाई समेत बेकुफ बनाएर त्यहाँ छिरेको पुष्टि भएको छ । सार्वजनिक भएको अडियोमा आफूलाई स्वीस कम्पनीका एजेन्ट बताउने मिश्रले ‘स्वीस एम्बेसीसँग पनि भेट गराउने र राजदूतले पनि कुरा गर्न चाहेको’ जस्ता संवाद मन्त्री बाँस्कोटासँग गरेको सुनिन्छ ।

सोही अडियोलाई लिएर समाचारहरू प्रकाशित भएपछि काठमाडौंस्थित स्वीस दूतावासले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरेर त्यसको खण्डन गरेको हो । विज्ञप्तिमा दूतावासले सञ्चारमाध्यमहरूमा उल्लेख भएजस्तो स्वीस कम्पनीका कुनै प्रतिनिधिले समाचारमा उल्लेख भएका व्यक्तिसँग नभेटेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘दूतावासको आग्रहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग कसैले पनि भेट गरेको छैन ।’

यसैबीच लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै मिश्रसहित दुई जनालाई पक्राउ गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई पत्र लेखेको छ । समितिको बिहीबारको बैठकमा नेकपाका संसद् पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक संजाल फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए । उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए ।

प्रतिक्रिया