नवौँ वर्षमा

सौर्य राष्ट्रिय दैनिक आजदेखि आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । ६२ औँ प्रजातन्त्र दिवसको अवसर पारेर ०६८ साल फागुन ७ गतेदेखि सौर्य दैनिकको प्रकाशन सुरु गरिएको हो । यो आठ वर्षे यात्रामा हामी आफ्नो प्रयासमा के कति सफल भएका छौँ, यसको मूल्यांकनको जिम्मा पाठक वर्गलाई सुम्पेका छौँ । साथै, पाठक वर्गबाट सल्लाह तथा सुझावको अपेक्षा पनि गर्दछौँ ।

मुलुकको इतिहासमा फागुन ७ विशेष महत्वको दिन हो । मुलुकमा कस्तो शासन व्यवस्था स्थापना गर्ने ? भन्ने एजेन्डाका लागि २००७ साल फागुन ७ गतेयता मुलुकले लामो समय खेर फालेको छ । राजनीतिक एजेन्डाका लागि अमूल्य समय खेर गएका कारण आर्थिक समृद्धि तथा विकासमा हामी पछि परेका हौँ ।

०६३ सालको परिवर्तनसँगै राजनीतिक एजेन्डामा प्रमुख दलहरू सहमतिमा पुगेका छन् । यो सहमतिलाई आधार मानेर मुलुकको विकास तथा आर्थिक समृद्धिमा जुट्नु नै आम नेपालीको कर्तव्य हो । सबैले आ–आफ्नो क्षमताअनुसार योगदान पु¥याउनुपर्छ भन्ने मान्यता सौर्य दैनिकको हो । संविधान निर्माणमा लामो समय लागे पनि मुलुकको राजनीतिक यात्रा सकारात्मक रूपमा अघि बढिरहेको छ । राज्यका तीनवटै तहमा जननिर्वाचित सरकारहरुले काम गर्न थालेको दुई वर्ष बितिसकेको छ ।

विकास तथा आर्थिक समृद्धिका पाइला मुलुकले कसरी चलिरहेको छ ? भन्ने सन्दर्भमा सौर्य दैनिकले गत वर्ष फागुन ७ गते ‘संघियताको वर्ष’ नामक विशेषांकमार्फत आम जनतालाई सुसूचित गराउने प्रयास गरेको थियो । नयाँ प्रणाली अँगाल्दा आएको चुनौति, अप्ठेरा र सजिला पाटाहरुलाई हामीले उजागर गरेका थियौं । केन्द्रीय सरकार र स्थानीय सरकारको अभ्यास मुलुकले लामो समयदेखि गर्दै आएको हो, तर प्रदेश सरकारको अभ्यास तथा अनुभव हाम्रा लागि नयाँ हो ।

त्यसैले गत वर्ष हामीले मुख्यमन्त्रीहरूका एक वर्षका अनुभव, उनिहरुले भोगेका चुनौति र आगामी दिनमा गर्ने कामसहितका प्रतिवद्धता प्रकाशित गरेका थियौं । यो दुई वर्षमा संघिय गणतन्त्रको जहाजले सफलताका साथ उडान भर्न सुरु गरेको छ । अब यो प्रणालीबाट पछाडि फर्कने अवस्था छैन । तेस्रो वर्षमा प्रवेश गरेसँगै हरेक प्रदेशले , संघियता र गणतन्त्रमा शंका नगरी विकासको मूल फुटाउने बेला आएको छ । जनतालाई यो प्रणाली उत्कृष्ट छ भनेर प्रमाणित गरेर देखाउने चुनौति आएको छ ।

जसमा सबै पक्ष खरोरूपमा उत्रिनुपर्ने बेला आएको छ । यस पटक हामीले पर्यटन विशेषंक प्रकासित गरेका छौँ । हाम्रो मुलुकका लागि विदेशी मुद्रा आर्जन गर्न पर्यटनबाहेक अर्को भरपर्दो स्रोत देखिएको छैन । मुलुकले पर्यटन वर्ष २०२० मनाइरहेको छ । मुलुकको यो अभियानलाई आफ्ना तर्फबाट पनि भरपुर योगदान पु¥याउन सकियोस् भन्ने जमर्को हामीले गरेका हौँ ।

नौ वर्षको यो आत्रामा हामीले आम पाठकबाट माया पाइरहेका छौँ । पाठकहरूको हार्दिक मायाले हामीलाई ऊर्जा तथा हौसला थपिरहेको छ । नवौँ वार्षिकोत्सवको यो अवसरमा आम पाठक वर्गप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यहाँसम्मको यात्रा उत्साहजनक रूपमा तय गर्न हामी सफल हुनुमा व्यवसायी तथा विज्ञापन एजेन्सीहरूको सहयोग पनि त्यत्तिकै महत्वपूर्ण छ ।

समस्त विज्ञापनदाताप्रति कृतज्ञता ज्ञापन गर्दछौँ । साथैं, हामी यहाँसम्म आइपुग्नुमा पत्रकार, स्तम्भकार तथा कर्मचारीहरूको अथक मिहिनेत पनि उत्तिकै महत्वपूर्ण छ । यस अवसरमा सबै पत्रकार, कर्मचारी तथा विज्ञापनदाताहरूलाई धन्यवाद प्रकट गर्दछौँ ।

प्रतिक्रिया