नेपालले दियो ओमनलाई २५० रनको लक्ष्य

काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतको लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए ।

त्यसैगरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन जोड्दै बाहिरिए । त्यस्तै सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमलसिंह ऐरी ९ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका अकिब इलासले चार विकेट लिए भने मोहमद नदिमले तीन विकेट झारे । नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । त्यसैको बदला लिने नेपाललाई आज अवसरसमेत छ । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरको थियो । ओमन अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया