पदक जित्ने खेलाडीलाई प्रधानमन्त्रीको हौसला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका छन् । उनले खेलाडीहरूलाई बधाइ दिँदै उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे ।  उनले १३ औँ सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरूलाई सुझाव दिए । ‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन । अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छाँै । २०६ वटा खेलमा सहभागी हुने हैसियत थिएन । अहिले २०६ वटै पदक प्राप्त गरिसकेका छाँै’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सबै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए ।

विगतमा एकमात्र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुने रंगशाला नरहेकोमा यसपटक तीन ठाउँका ठूला रंगशालाबाट अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सफल भएकोमा उनले सरकारको सफलतासँग जोडे । सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको भन्दै सातवटै प्रदेशमा नयाँ र भव्य रंगशाला बन्दै गर्नुलाई प्रगतिको संकेतका रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छन् । आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेकी छन्’ उनले भने । मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताए ।  ठट्यौली शैलीमा प्रधानमन्त्रीले भने, ‘अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै हो । रजत पदक प्राप्त गर्नेलाई बधाइ ।’

‘कांस्य पदक स्वर्ण पदक जस्तै हो । मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौँ । रजतले पनि एउटालाई पराजित गर्न कसो नसकिएला ?’ प्रधानमन्त्रीको हौसला थियो ।  प्रधानमन्त्रीले आफूलाई साग प्रतियोगिता सुरु हुने वेला अचानक एपेण्डिसाइटिस इन्फेक्सन भएको भन्दै अस्पतालमा हुँदा पनि युट्युबबाट हेर्ने गरेको तथा आइसियुमा हुँदा पनि हेर्न नछुटाएको बताए । ‘फाइनलामा रंगशाला जान खोजेको थिएँ ।

तर जानसक्ने अवस्था रहेन । मलाई तपाइहरूले देख्नु भएको थिएन तर मैले तपाईंहरूलाई हेरिरहेको थिएँ’ प्रधानमन्त्री ओलीले आफू पनि पहिला पौडीको खेलाडी रहेको स्मरण गरे । ‘हाम्रो पालामा स्वीमिङ पुल नभए पनि खोलाहरूमा पौडी खेल्ने गरिन्थ्यो’ उनले स्मरण गराए ।  प्रधानमन्त्रीले अर्को पटक पनि यस्ता प्रतियोगिताका उद्घाटन र समापन समारोह उत्सव छोटा बनाउन सुझाव पनि दिए । अन्तिममा पुरस्कार घोषणा गर्दै भने, ‘हाम्रो जस्तो गरिब देशले खेलाडीको उचित सम्मान गरेजस्तो लाग्छ । अबदेखि कांस्य पदक विजेता खेलाडीलाई तीन लाख माथिको पुरस्कार दिइन्छ ।’

प्रतिक्रिया