कहाँ गए धरहराको इँटा ?

काठमाडौंका दुईवटा होटलमा झण्डै सय वर्ष पुराना पुरातात्विक तथा कलात्मक महत्वका इँटाहरू सजावटका रूपमा प्रदर्शनमा राखेको थाहा पाएपछि पुरातात्विक महत्वका अन्य महत्वपूर्ण अवशेषको सुरक्षाका बारेमा गम्भीर चिन्ता व्यक्त भएका छन् ।

सुरुमा सामाजिक सञ्जालको एक वेबसाइट ट्विटरमा ती इँटाहरूसहित होटलका फोटोहरू राखिएपछि कतिपय समाजिक सञ्जाल प्रयोगकर्ताहरूले भूकम्पका कारण क्षतिग्रस्त धरहरा लगायतका पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थानहरूबाट अनाधिकृत रूपमा ती इँटाहरू लगिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

खुला संग्रहालयका रूपमा चिनिने राजधानी उपत्यकाका प्राचीन तथा ऐतिहासिक स्थलहरूको भग्नावशेषको सुरक्षा, संरक्षणको अवस्था तथा सजावट वा संग्रहणीय वस्तुका रूपमा प्रयोग भएकोप्रति व्यक्त सार्वजनिक अभिव्यक्तिका बारे सत्यतथ्य के हो भन्ने प्रश्नमा काठमाडौं महानगरपालिकाका एक जना उच्च अधिकारीले यसबारे आफूले बुझ्ने जवाफ दिएका छन् ।

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘धरहराको इँटालाई कसरी बिक्री गर्न दिइयो ? र किन कुनै होटलले इतिहासकै एउटा पीडादायी भूकम्पको सम्झना दिलाउने र मानिसहरूले धरहरा भत्कदा ज्यान गुमाएको ठाउँको इँटालाई कोठामा सझाउनुलाई उपयुक्त ठान्यो ? यसबाहेक पनि यस्ता खरिदका कानुनी मुद्दाहरू पनि छन्

तर, पुरातत्व विभागका अधिकारीले ऐतिहासिक महत्वका इँट, काठलगायतका भौतिक निर्माणका सामग्री जुनसुकै उपाय गरेर हासिल गरी होटलमा वा अन्य प्रयोगमा राखिएको प्रमाणित भएमा त्यो गैरकानुनी कार्य हुने बताएका छन् ।

केही दिनअघि पत्रकार कशिश दास श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा काठमाडौंकोे एउटा नयाँ होटलका प्रत्येक कोठामा सन् २०१५ को भूकम्पमा भत्किएका धरहराको इँटाहरू राखिएको हुन सक्ने संकेत गर्दै ट्विट गरेका थिए ।

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘धरहराको इँटालाई कसरी बिक्री गर्न दिइयो ? र किन कुनै होटलले इतिहासकै एउटा पीडादायी भूकम्पको सम्झना दिलाउने र मानिसहरूले धरहरा भत्कदा ज्यान गुमाएको ठाउँको इँटालाई कोठामा सझाउनुलाई उपयुक्त ठान्यो ? यसबाहेक पनि यस्ता खरिदका कानुनी मुद्दाहरू पनि छन् ।’

उनको पोस्टमा प्रतिक्रिया जनाउँदै अर्का एकजनाले अर्को एउटा होटलले त्यस्तै, प्रकृतिका इँटाहरू फ्रेममा हालेर राखेको तस्बिर पोस्ट गरेका थिए । ती दुवै होटलका व्यवस्थापकहरूसँग सम्पर्क गरी त्यहाँ प्रयोग भएका ऐतिहासिक इँटाहरूको उदगम के हो, ती कसरी त्यहाँ होटलमा पुगे भन्ने प्रश्न गरेको थियो ।

त्यसबारे बसेरा बुटिक होटलका व्यवस्थापकले आफूले त्यसबारे बुझेर खबर गर्ने बताएका थिए र लामोसमयसम्म त्यसको जवाफ पाएका छैनौँ । यस्तै, इचिबान रेस्टुराँका व्यवस्थापकले आफूकहाँ सजाएर राखिएका पुराना इँटा कसरी ल्याइएको हो भन्ने थाहा नभएको र ती धरहराको भग्नावशेषका हुन् कि होइनन् यकिन रूपमा भन्न नसक्ने उल्लेख गरेका छन् ।

बसेरा बुटिक होटलको फेसबुक खातामा प्रत्येक इँटाको पछाडि कथा हुन्छ भन्ने क्याप्सनसँगै १९०९ साल उल्लेख गरिएको एउटा फोटो राखिएको छ । इचिबान रेस्टुराँले आफ्ना दुई ग्राहकसहितका फोटो राखेको छ जसमा पुराना इँटाहरू फ्रेममा सजाइएको देख्न सकिन्छ । अधिकारीहरूले ती इँटाहरूबारे आफूले केही भन्न नसक्ने र ती धरहराबाटै लगिएका हुन् होइनन् छुट्याउन गाह्रो हुने प्रतिक्रिया दिएका छन् ।भिमसेन स्तम्भका रूपमा पनि चिनिएको धरहराको निर्माण भिमसेन थापाको पालमा भएको र वि.सं. १९९० सालको भूकम्पमा पुरानो धरहरा भत्किएपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा त्यसको नौलो शैलीमा पुनर्निर्माण गरिएको थियो ।

राणाकालमा प्रधानमन्त्रीको शासनकालमा पोलिएका इँटहरूमा त्यसै समयका प्रधानमन्त्रीको नाम र साल अंकित हुने गरेका उदाहरणहरू पाइन्छ । त्यसैले, पुराना भवनहरूमा श्री ३ वीर, श्री ३ चन्द्र, श्री ३ भीम, श्री ३ जुद्ध आदि लेखिएका इँटहरू पाउन सकिन्छ ।

तर, नयाँ बनेका होटलहरूमा प्रदर्शित इँटाहरूको यो प्रकरणले ऐतिहासिक र पुरातात्विक महत्वका साथै पुर्खाको धरोहर र नेपाली कलाको पहिचानका रूपमा रहेका सम्पदाहरू हराएको पीडा अभिव्यक्त हुनुका साथै त्यस्ता सम्पदाको संरक्षण र संवद्र्धनको दूरवस्थासम्बन्धी चर्चालाई फेरि अगाडि ल्याइदिएको छ ।

पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर न्यौपानेले भने, ‘वैधरूपमा व्यक्तिगत संकलनमा भएका बाहेक पुरातात्विक महत्वसँग जोडिएका कुनै पनि सामग्रीहरूलाई निजी रूपमा प्रयोग गर्न नीतिगत, सैद्धान्तिक र कानुनी रूपमा मिल्दैन ।’ ‘इँटाहरू त्यसरी प्रयोग भएका बारे हामीलाई जानकारी छैन । तर सार्वजनिक महत्वका स्मारकका इँटाहरू निजी रूपमा प्रयोग गरिएको छ भने त्यो गैरकानुनी हो ।’

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानेले लामो समयसम्म धरहराको भग्नावशेष टुँडिखेलमा थुप्रिएको भन्दै त्यस्ता इँटहरू कस्ले कहाँ कसरी प्रयोग गरेको छ त्यस बारेमा आफूले बुझ्ने बताए ।

समाजिक सञ्जाल ट्विटरमा धरहराका इँटाहरू ब्रिक्री गरिएको आशंकासहितका धारणाहरू व्यक्त गरिए पनि त्यसवेला पदमा बहाल रहेका सरकारी अधिकारीहरूले त्यस्तो बिक्रीवितरणसम्बन्धी कुनै निर्णय नभएको बताएका छन् ।

विनाशकारी भूकम्पका समयमा पुरातत्व विभागका महानिर्देशक रहेका भेषनारायण दाहाल भन्छन्, ‘म महानिर्देशक हुँदा जब धरहराबाट इँटाहरू हराइरहेका समाचारहरू आए हामीले ती इँटाहरूलाई त्यहीँ प्रयोग गर्नुपर्छ व्यक्तिगत रूपमा लैजान पाइँदैन भनेर रोकेका थियौँ ।’

उनले थपे, ‘त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्रधिकरण गठन भयो । भग्नावशेषहरू हटाउने कुरा आए । त्यसवेला भएका टेन्डर दस्तावेजले त्यसपछि के भयो बोल्ने कुरा हो । बाहिर प्रयोगका लागि यसरी व्यक्तिगत रूपमा ती इँटाहरू लैजान पाइँदैन । या टेन्डर गरेर बिक्री गरेको प्रमाण हुनुप¥यो नत्र भने पुरातात्विक महत्वका सम्पदाहरूको अनाधिकृत प्रयोग गरिएकोमा कानुनी दफा आकर्षित हुने देखियो भने कारबाही पनि हुनसक्छ ।’ ‘तर यस्तो इँटा जोडिएका घटनामा विगतमा कारबाही भएको मलाई जानकारी छैन ।’

पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूचाहिँ वि.सं. ०७२ वैशाखको भूकम्पपछि ६ महिनाभन्दा ढिलो गरी पुनर्निर्माण प्राधिकरण गठन गरिएको र त्यसवेला भत्किएर बाँकी रहेको धरहराको खण्ड मात्रै आफूहरूले देखेको बताउँछन् ।

हाल कंक्रिटको लगभग ८० मिटर लामो धरहरा पुनर्निर्माण अभियानको रेखदेख गरिरहेका पुनर्निर्माण प्राधिकरणका पूर्व सहसचिव राजुमान मानन्धर भन्छन्, ‘धरहरा भत्किएर केही मानिसले ज्यान गुमाएपछि सुरुमा त्यस क्षेत्रमा हिँडडुल गर्न नै प्रतिबन्ध लगाइएको थियो । ‘पछि डोजर चलाएर सबै सफा गरियो र त्यसमा ढुंगा, इँटा, माटो सबै थियो । त्यो वेलामा पनि हाम्रो सबै पुरातात्विक सामाग्रीहरू गयो भनेर चिन्ता व्यक्त भएको थियो । ट्रकमा राखेर लगिएका ती भग्नावशेष कहाँ छन् अहिले कसैलाई थहा छैन ।’

उनी भन्छन्, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउने निर्णय तीन वर्षपछि ग¥यो । भत्किएर बाँकी रहेको भ¥याङ रहेको बीचको गोलो भागमा अहिले पनि केही इँटाहरू छन् । केही सिँढीमा फुटेको टुटेको इँटाहरू थियो भुँइमा चाहिँ केही पनि थिएन । त्यसलाई हामीले फ्रेम र जाली राखेर छोपिदियौँ ।’ उनले ट्रकमा हालेर सुरुमा टुँडिखेलमा लगेर फालिएका इँटाहरू सबै हराएको हुनसक्ने उल्लेख गरेका छन् ।

‘पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउने निर्णय गर्नुभन्दा अगावै भग्नावशेषहरू टुँडिखेलबाट हटाइए । मेरो विचारमा ठेकेदारहरूले त्यसलाई सडकसहितका खाल्डाखुल्डी पुर्ने प्रयोजनका लागि अन्यत्रै लगेर फ्याले कि जस्तो लाग्छ । त्यो कहाँ गयो म भन्न सक्दिनँ ।’ विगतमा पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुखसमेत रहेका मानन्धर धरहराको भत्किएको भागको लगभग सम्पूर्ण इँटाहरू नरहेको उल्लेख गरे । ‘हामी त्यहाँ पुग्दा बढारेर सिनित्त भएकोजस्तो अवस्थामा थियो । त्यहाँ भग्नावशेषहरू थिएनन् बरू घाँसहरू पलाएका थिए ।’ उनले भने ।

हाल निर्माणाधीन नयाँ धरहरा पहिलेको भन्दा दोब्बर बढी अग्लो बनाउने योजना रहेको छ । विज्ञहरूले धरहरासँग जोडिएका पुरातात्विक सामाग्रीहरूको संरक्षणमा देखिएका उदासीनतालाई निकै चिन्ताजनक भनेका छन् । यसले राज्यस्तरमा रहेको लापरबाही र सम्भावित अनियमिततालाई सतहमा ल्याइदिएको उनीहरूले बताउने गरेका छन् । (बिबिसी)

प्रतिक्रिया