नेपाललाई फुटबलको स्वर्ण

काठमाडौं । नेपाली राष्ट्रिय यु(२३ फुटबल टोलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औँ सागमा नेपालले जितेको यो ५१ औँ स्वर्ण हो । दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले गोल गरे । भुटानका लागि चेन्चो ग्यालसेनले एक गोल फर्काए ।

खेलको १६ औँ मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारी प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।

खेलको ३६ औँ मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गर्दै भुटानलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नेपालले पेनाल्टीको लागि अपिल गरेपनि सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता गरेनन् ।

दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले दायाँ विंगबाट आएको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपाललाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो । नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।

समर्थनका लागि धन्यवाद ! 
जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिठ्ठी बजाए, नेपाल १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थित नेपाली दर्शकले खुसी मनाए । खेलाडी विपक्षी र अफिसियलसँग हात मिलाएर प्लेयर बक्समा पुगिसकेका नेपाली खेलाडीहरू फेरि मैदानमा प्रवेश गरे । मध्यभागमा पुगेर गोलो घेरा बनाए । दर्शकहरूलाई धन्यवाद दिए । यसअघि माल्दिभ्सविरुद्ध जित हात पारेपछि भाइकिङ क्लाप गरेर दर्शकहरूलाई धन्यवाद दिएका नेपाली खेलाडीहरूको यो शैली युनिक थियो ।

यो सेलिब्रेसनबारे प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘अहिलेसम्म खेलमा समर्थन गरिदिएकाले सबै दर्शकलाई एकै ठाउँमा उभिएर धन्यवाद व्यक्त गरेका हौँ ।’ नेपालले करिब ५ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएको थियो र सागका हरेक खेलमा घरेलु दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।खेलका क्रममा साधारण र भीआईपी प्यारापिटमा रहेका दर्शक खेलाडीको हौसला बढाउन मेक्सिकन वेभ शैलीमा समर्थन गरिरहन्थे । कहिले रातो र चन्द्र सूर्य गीत गाउँथे । खेल अवधिभर नै खेलाडीलाई दर्शकले समर्थन गरिरहे । खेल सकिएपछि खेलाडीहरूले त्यही समर्थनका लागि धन्यवाद दिएका हुन् ।

सुनिलको मेस्सी शैली
काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलबाट चौथो पटक स्वर्ण पदक जिताउने क्रममा सुनिल बलको गोल निर्णायक रह्यो । स्वर्णका लागि भुटानविरुद्ध २–१ को जित दर्ता गराउँदा सुनिलले खेलको ५२ औँ मिनेटमा हेडबाट उत्कृष्ट गोल गरेका थिए । उनले गोल गरेलगत्तै आफूले लगाउँदै आएको नौ नम्बरको जर्सी खोलेर सेलिब्रेसन गरे । बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले एल क्लासिकोमा रियल मड्रिडविरुद्ध गोल गरेपछि आफ्नो १० नम्बरको जर्सी खोलेर पहिलो पटक सेलिब्रेसन गरेका थिए । मेस्सीकै शैली पछ्याउँदै सुनिलले गोलको खुसी दर्शकसँग बाँडेका हुन् ।

प्रतिक्रिया