टिस्टुङमा स्थलगत चित्र

चित्लाङ । कलामार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने कला कार्यशाला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङ सरस्वती बजारमा टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र कार्यशाला गरेको हो ।

कार्यशालामा सहभागी कलाकारले स्थानीय पालुङ, चित्लाङ भेग तथा त्यस आसपास क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीलाई क्यानभासमा उतारेका थिए । उक्त कार्यक्रमको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शुभारम्भ गर्दै प्राकृतिक सौन्दर्य र विविधताले भरिएको टिस्टुङलाई कलामार्फत चिनाउने लक्ष्य प्रतिष्ठानले राखेको बताए ।

उनले यस क्षेत्रका विभिन्न संस्कृति तथा जात्रा पर्व लोपोन्मुख बन्दै गएकाले स्थलगत कला सिर्जनाले तिनको संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, थाहा नगर पालिकाका नगरप्रमुख लवशेर विष्टले थाहा आदर्शका संस्थापक रुपचन्द विष्टको स्मरणमा उनको शालिक निर्माण भइरहेको जानकारी दिए । उनले प्रतिष्ठानको नेतृत्वमा कलाकारले सिर्जना गर्ने स्थानीय विषयवस्तुले पूर्वाधार विकासका साथै पर्यटन क्षेत्रको विकास हुने विश्वास लिएको बताए ।

प्रतिष्ठानकी प्राज्ञ तथा चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले कलाले सामाजिक तथा आर्थिक विकासमा योगदान दिने बताइन् । उनले समाजलाई सभ्य, सचेत र समृद्ध बनाउन कलाको विशिष्ट भूमिका हुने जिकिर गरिन् । उनले भनिन्, ‘कला र संस्कृतिको विकासमा राज्यले काम गरिरहेको छ । समाजलाई समृद्ध बनाउँदै सुखी नेपाली बनाउने योजनालाई मूर्तरूप दिन कलाकारले टिस्टुङमा स्थलगत कार्यशाला गरेका हौँ ।’

बज्रबाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, जनजाति अध्ययन समूहका अध्यक्ष मिना महर्जनलगायतले कृषि र पर्यटनको राम्रो सम्भावना रहेकाले त्यस क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा थाहा नगरपालिका, स्थानीय संस्था, इथ्नोलोजिकल स्टडिज ग्रुप र बज्रबाराही बजार व्यवस्थापन समितिले सहयोग गरेका थिए ।

सो अवसरमा ‘पर्यटन र कला सिर्जना’ विषयक गोष्ठीमा कलाकार एकाराम महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले देशमा भएका भौगोलिक, सांस्कृतिक, पर्यावरण, धार्मिक क्षेत्र तथा सम्पदालगायतको विशेष महत्व रहेकाले ती वस्तुलाई प्राथमिकतामा राखेर चित्र सिर्जना गर्नुपर्नेमा जोड दिए । उक्त कार्यपत्रमा गणेशकुमार जिसीले टिप्पणी गरेका थिए ।

उनले देशको विकास र समृद्धिका लागि कला सिर्जनाले प्रभाव पार्ने र नेपाली मौलिक परम्परा, पुरातात्विक महत्वका सांस्कृतिक विषयवस्तुमा सम्बन्धित समुदायका सभ्यता र भावनालाई ध्यान दिनुपर्ने सुझाव दिए । कार्यशालामा कलाकार डिराम पाल्पाली, नरबहादुर बि.के, कृष्णगोपाल श्रेष्ठ, नेमबहादुर तामाङ, महिमा सिंह, टीकावीर राई, अनिल महर्जन, कला सुब्बा, जेनी नकर्मी, प्रमोद गोपालीलगायतका कलाकार सहभागी भएका थिए ।

प्रतिक्रिया