चित्रकलाबाट संरक्षणको अभियान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकाको विजय चोकबाट दुई सय मिटर दक्षिणमा एउटा सानो घर छ । घरभित्र क्यान्भासमा कोरिएका चित्रका साथै काठ तथा ढुंगामा कुँदिएका चित्रहरू बगे्रल्ती देखिन्छन् ।

उमेरले बुढ्यौली लाग्दै गरेका एक व्यक्ति हातले कुची समाउँदै प्राकृतिक चित्र बनाउन व्यस्त भेटिन्छन् । घरको भित्ताभरि मानव र प्रकृतिबीचको सम्बन्ध देखाउँदै उनीहरूको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने अधिकांश चित्रहरू छन् । ती चित्र कोर्ने चित्रकार हुन् भीमप्रसाद शर्मा । उनले खाइ पाइ आएको सरकारी जागिरलाई तिलाञ्जलि दिएर चित्रकलामा रमाउन थालेका करीब २८ वर्ष भयो ।

मुस्ताङमा पढाउने जागिर छोडेर चित्र कोर्न सुरु गरेका शर्माले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरिसकेका छन् । स्वदेश तथा विदेशमा गरी नौ पटकसम्म चित्रकला प्रदर्शनी गरिसकेका शर्माले १०औँ चित्रकला काठमाडौंंमा गर्दै छन् । मानिस र गौँथलीबीचको सम्बन्धमा केन्द्रित रहेर शर्माले मंसिर २२ देखि २७ गतेसम्म बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा एकल चित्रकला प्रदर्शनी गरिरहेका छन् ।

गाउँबाट गौँथलीहरू हराउँदै गएको स्मरण गर्दै गौँथलीको वरिपरि रहेर चित्रकला निर्माण गरेको शर्माले बताए । छ दिनसम्म चल्ने उनको प्रदर्शनीमा गौँथलीका विभिन्न भाव झल्किने ३५ वटा चित्र प्रदर्शनी राखिएको छ । आठ वर्षपछि आफ्नो जन्मभूमि बागलुङ पुग्दा गौँथली नभेटेपछि यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन चित्रकला निर्माण गरेको उनले बताए ।

‘म आठ वर्षपछि मेरो जन्मघर बागलुङ गएको थिएँ,’ शर्माले भने, ‘त्यहाँ पहिले घरको ढोकामा, बार्दलीमा गौँथलीहरू देखिन्थे । तर, अहिले एकदमै कम देखेँ, त्यसैले त्यसबारेमा चित्र कोर्ने इच्छाशक्ति जाग्यो ।’ उनले चित्रमा गौँथली कोर्नुको कारण बताए । मानिसहरू रहेको ठाउँमा बस्न रुचाउने गौँथलीहरू मानिसको बसाइँ सराइसँगै एक्लिएका शर्माले बताए । पहिलेको जस्तै गौँथली नभेटिने भए पनि पुराना घरमा मान्छे आउने आशले कुरेर बसेका गौँथली देख्न पाउने शर्माले बताए ।

‘मान्छे र गौँथली छुट्टिएपछि गौँथलीहरू खुसी भएनन,’ शर्माले भने, ‘परिवारमा आश्रित चराले एक्लो महसुस गर्न थालेका छन् ।’ एकतर्फी सम्बन्ध हुँदा गौँथलीलाई पीडाबोध हुन थालेको अनुभव गगरेका शर्माले भने, ‘ती गौँथलीहरूको नाममा चित्र कारेर ‘सम्बन्धन’ नाम दिएर चित्रकला प्रदर्शन गर्न लागेको हुँ ।’ शर्माले प्रदर्शनमा राखेका ३५ वटै चित्रहरू काठमा निर्माण गरिएका छन् ।

ती चित्रमा ढोका र तालाचाबीलाई ‘टुल’को रूपमा प्रयोग गरिएको शर्माले बताए । ‘बन्द घर देखाउन तालाचाबीलाई समेत चित्रमा देखाएको छु,’ उनले भने, ‘चाबी लगाएको घरभित्र पनि मान्छे आउने आशमा कुरेर बसेका गौँथलीहरू चित्रकलामा देख्न सकिन्छ ।’ चराहरू स्वतन्त्रता, सुन्दरता र एकताका प्रतीक हुन् भन्ने शर्माको मान्यता छ ।

‘चराहरूका पनि परिवार हुन्छन्, उनीहरूको भाषा हुन्छ, उनीहरूमा माया, ममता, स्नेह र प्रेम हुन्छ,’ शर्माले भने, ‘मानवीय स्वभावसँग मिल्ने गुण हुने भएकाले मानिसबाट टाढा हुनपर्दा उनीहरूले एक्लोपना महसुस गरेका छन् ।’ प्रकृतिमा भएका चराचुरुङ्गीहरू मानिसका लागि आवश्यक पर्ने भएकाले उनीहरूको संरक्षण गर्ने दायित्वसमेत मानिसको भएको सन्देश चित्रकलामा प्रस्तुत गरिएको शर्माको भनाइ छ ।

अस्पतालको उपकरणका लागि प्रदर्शनी
शर्माले अहिलेसम्म गरेका नौ वटा चित्रकला प्रदर्शनीमध्ये तीन वटा अस्पतालका लागि आवश्यक पर्ने उपकरण जुटाउन सहयोग स्वरूप गरेका थिए । उनी आफ्नो कारण समाजलाई फाइदा पुगोस् भन्ने चाहान्छन् ।

सन् १९९९ मा जर्मनीको तीन ठाउँमा प्रदर्शनी भएको चित्रकलाबाट गैँडाकोटको सहज सामुदायिक अस्पतालका लागि उपकरण ल्याउन सहयोग भएको उनले बताए । ‘मैले जर्मनीमा एक सय १९ वटा चित्र लगेर प्रदर्शनीमा राखेको थिएँ, त्यहाँ प्रदर्शनीका लागि राखिएका चित्रहरू मैले व्यक्तिगत कामका लागि बिक्री गरिनँ,’ उनले भने, ‘मैले चित्रकला प्रदर्शनीमा लेखेर राखेको थिएँ । तपाईंलाई आवश्यक चित्रहरू निःशुल्क लिएर जानुहोस् तर, बदलामा अस्पतालका लागि आवश्यक पर्ने उपकरणहरू सहयोग गर्नुहोस् ।’

त्यो प्रदर्शनीबाट सहजका लागि एक्सरे मेसिन, शैय्यालगायतका दुई कन्टेनर उपकरणहरू सहयोग मिलेको शर्माले बताए । शर्माले प्रदर्शन गर्ने चित्रबाट सामाजिक काममा समेत खर्च गरिएका छन् । चितवनमा आएको बाढीबाट पीडित मुसहर बस्तीको सहयोगार्थ उनले दुई वर्ष अगाडि चित्रकला प्रदर्शनी गरेका थिए । त्यस्तै, गत वर्ष वैशाख पूर्णिमाको समयमा कपिलवस्तुमा समेत बुद्धसम्बन्धी चित्रहरू प्रस्तुत गरेको उनले बताए ।

चित्र कोर्न बुबाबाट सिकेँ
शर्मा आफूले बुबासँग चित्र कोर्न सिकेको बताउँछन् । ‘मैले चित्रकलाका लागि कुनै औपचारिक कक्षा लिइनँ,’ उनी भन्छन्, ‘मेरो बुबा ज्योतिष पण्डित हुनुुहुन्थ्यो, उहाँले चिनामा कोरेको चित्र हेर्दै मैले पनि चित्र बनाउन सुरु गरेको हुँ ।’ आफ्नो बुबाले बनाउने चिनामा कोर्नुपर्ने चित्रको काम आफैँले पाएपछि चित्रकलामा ध्यान गएको उनको भनाइ छ ।

उपहारका लागि चित्रकला
क्यानभासमा कोरिएका चित्रहरूको बिक्री कमै मात्रामा हुने गरेको भए पनि पछिल्लो समय उपहारका लागि साना चित्रहरू बिक्री हुने गरेको शर्माले बताए । ‘काठमाडौं बाहिर चित्रकलाको खासै महत्व दिएको मैले पाइनँ,’ शर्माले भने, ‘जन्म दिन, विवाहलगायतमा साना तस्बिर तथा ढुंगामा कुँदिएका तस्बिरहरू उपहारका रूपमा प्रयोग हुन थालेका छन् ।’ पाँच हजार रुपैयाँसम्मका चित्रकलाका लागि मानिसहरू आउने गरेका उनी बताउँछन् ।

‘गैँडाकोट तथा नारायणगढ क्षेत्रमा अहिले पनि चित्रकला बिक्री हुन गा¥हो छ,’ उनले भने, ‘गिफ्टका लागि सानो पेन्टिङ बिक्री हुन्छ । यसरी त चित्रकारको जीवन निर्वाहमा समेत समस्या पर्छ ।’ चित्रहरू बिक्री गर्न प्रदर्शनी नै गर्नुपर्ने अवस्था रहेको उनले बताए । आफूले गरेको चित्रकला प्रदर्शनीमध्ये सात वटा विदेशीहरूको सहयोगमा सम्पन्न भएको उनको भनाइ छ ।

वि.सं २०३८ देखि व्यवसायिक रूपमा चित्र कोर्न सुरु गरेका भए पनि बीचबीचमा यो क्षेत्रबाट उनी बाहिरिनेसमेत गरेका छन् । त्यस वेला नारायणगढमा सनसाइन आर्ट खोलेर पछि फोटोग्राफी समेत गरेको उनले सुनाए । चित्रकलाको काम गर्दागर्दै डिजिटल होर्डिङ बोर्डको समय सुरु भएपछि आफू झण्डै यस पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको उनी सम्झन्छन् ।

वि.सं २०४८ सम्म चित्रकलालाई निरन्तरता दिएको पनि पछि उनी अन्य पेशामा लागे र २०५४ सालसम्म विभिन्न गैरसरकारी संस्थामा आवद्ध भएर काम समेत गरे । त्यसपछि पुनः यसै काममा फर्किए । माओवादी द्वन्द्व कालमा त्यसले समाजमा निम्त्याएको सामाजिक परिवेशलाई समेटेर सन् २००४ मा युरोपमा चित्रकला प्रदर्शनी गरेपछि चित्रकलालाई निरन्तररूपमा अगाडि बढाएको उनले बताए ।

‘त्यो बेलामा माओवादी द्वन्द्वले समाजमा पारेको प्रभावलाई चित्रमा उतारेर युरोपमा प्रदर्शन गर्दा त्यहाँबाट मैले अवार्ड समेत पाएँ,’ शर्माले भने, ‘त्यसपछि चित्रकलालाई व्यावसायिकरूपमा अगाडि बढाउँदै आएको छु, ।’ सन् २०१४ बाट गैँडाकोटमा कलावती आर्ट काउन्सिल खोलेर जीविकोपार्जन गर्न थालेका शर्माले कलाकार उत्पादनका लागि केही व्यक्तिलाई चित्र कोर्न समेत सिकाउन सुरु गरेका छन् ।

प्रतिक्रिया