३० वर्षमा २९औँ पटक सगरमाथा आरोहण तयारी

आफ्नै विश्व रेकर्ड तोड्दै कामिरिता

काठमाडौं । अन्य कुनै व्यक्तिका नाममा भएको विश्व कीर्तिमान तोड्ने हरकोहीको सपना हुन्छ । अप्रत्यक्ष प्रतियोगिता जस्तै मानिने यो विश्व कीर्तिमानको शृंखलामा नाम लेखाउने चाहना सबैको हुन्छ । तर, चाहना भएरमात्रै हुँदैन, त्यसका लागि अथक परिश्रम र धैर्य महत्वपूर्ण पक्ष हो । तर, सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गरेका नेपाली आरोही कामिरिता शेर्पा भने आफ्नै नाममा रहेको कीर्तिमान तोड्न लाग्दै छन् ।

यसअघि २८ पटक सगरमाथा आरोहण गरिसकेका शेर्पा २९औँ पटक आरोहणको तयारीमा छन् । गत वर्ष मा त्रै २८औँ पटक सगरमाथा आरोहण गरेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् ।

वसन्तयामको सगरमाथा आरोहणका लागि १ साताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने, ‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन । चुचुरोतिर जाउँ, कति सकिन्छ ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले जानकारी दिए । सेभेन समिट ट्रेक्स प्रालिमार्फत् उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन् ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत् कामिरिता २९औँ आरोहणका लागि आधार शिविर पुगेको बताए । अहिले आधार शिविरमा रहेका कामिरितासहित आरोहीहरू सगरमाथा आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् ।

सेभेन समिटमार्फत् ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथ प्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आएका छन् । सोलुखुम्बूको खुम्बू पासाङ ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले यस वर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमान तोडिनेछ । सगरमाथा आरोहणको ७१ बर्से इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बूकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए ।

‘सगरमाथा आरोहणका लागि जाँदै छु, मेरो अरू उद्देश्य छैन’, कामिरिताले भने, ‘हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।’

मौसमले साथ दिएमा यो वर्ष उल्लेख्य संख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने कामिरिताको विश्वास छ । उनले भने, ‘अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौँ– यो पटक मौसमले साथ दिनेछ ।’

सगरमाथा आरोहणमा जाँदा खुम्बू आइसफल निकै जोखिमपूर्ण भएकाले विशेष सतर्कता अपनाउन आरोहीलाई उनको सुझाव छ । सगरमाथा आरोहणमा हुन सक्ने विकृति रोक्न आरोहीको निगरानी र व्यवस्थापनमा सरकारी निकायले विशेष ध्यान दिन जरुरी भएको उनको भनाइ छ ।

कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चिज दिएको छ । हिमाललाई दुहुनो गाईका रूपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ ।

कामिरिताको आरोहण यात्रा

कामिरिताले २०७९ सालको वसन्त ऋतुमा २ पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनपछि नै उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमान पनि छ ।

कीर्तिमान जोगाउन चुनौती

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बूकै पासाङ दावा शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले त्यसलाई जोगाउने चुनौती थपिएको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रूपमा आरोही आइरहेका छन् । पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र ३२० पुरुष गरी ३९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपैयाँ रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका ४७८ आरोहीले अनुमति लिएका थिए । जुन संख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो ।

सन् २०२४ को वसन्तयाममा सगरमाथा आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ ।

मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का आइसफल डाक्टरहरूले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो ।

७ हजारभन्दा बढी आरोही सगरमाथामा

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म ७ हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला ५१९ जना पुगेका छन् ।

५ वर्षको आरोहण

सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२१ मा १८३ आरोही र २७६ सहयोगी गरी कुल ४५९ ले सगरमाथा आरोहण गरेका थिए ।

सन् २०२० मा कोभिडका कारणले सगरमाथा आरोहण हुन सकेन । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी जम्मा ६४४ आरोहीले आरोहण गरे भने सन् २०१८ मा २८२ आरोही तथा २९८ सहयोगी गरी जम्मा ५६० ले सगरमाथा आरोहण गरेका छन् । २ साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया