कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण

काठमाडौं । तेह्रौैँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुस्तीबाट पहिलो पटक स्वर्ण पदक जितेको छ । १२ औँ सस्करणसम्म रजत पदकमा चित्त बुझाउँदै आएको कुस्तीमा संगीता धामीले पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । जनकपुरमा शनिबार भएको ५५ किलो तौल समूहमा प्रतिपस्र्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई पराजित गरिन् । सकिरालाई ५–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जिताउँदा १९ वर्षीया धामी खुसीले रोएकी थिइन् । कुस्तीमा नेपाललाई स्वर्ण दिलाएकी संगीता जितपछि भावुक भइन् ।

संगीताका खुसीका आँसुमात्र झरेनन् उनी भावुक भएर रुनै थालिन् । संगीता भक्कानिएर रोएपछि उनलाई प्रशिक्षक र सहयोगीले सम्हाल्नु परेको थियो । उनको समर्थनमा हुटिङ गरिरहेका दर्शकसमेत उनी रुँदा भावुक बनेका थिए । धामी कञ्चनपुरको महेन्द्रनगरकी बासिन्दा हुन् । सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कांस्य पदक जितेको थियो ।

प्रतिक्रिया