महिला क्रिकेटमा नेपाल पराजित

पोखरा । सागअन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलंकासँग पराजित भएको छ ।  पोखरा रंगशालामा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । नेपालको स्वर्ण जित्ने आशा हारसँगै टरेको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जितका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बंगलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् । श्रीलंकाकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलंकाकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलंकासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कांस्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जित हासिल गरेको श्रीलंकाले २३ गते बंगलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ । नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताइन् । श्रीलंका टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया