फरक धारका खुसीराम

कालो वनको बीचमा एउटा बस्ती । निश्चय पनि त्यहाँ गरीब, निमुखा र सुकुम्बासीको बस्ती थियो । जनगायक खुसीराम पाख्रिन त्यही बस्तीमा पुगेर वास्तविकता संगीतबद्ध गर्नुभयो ।

कालो वनको बीचैमा खेतालाको गाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ

पाख्रिनको चर्चित उक्त गीतमा मजदुरको कथा र व्यथा छ । गणतन्त्र घोषणा भए पनि बिहान बेलुकाको छाक टार्न धौधौ हुने बस्ती मुलुकमा अझै थुप्रै छन् । उहाँका गीतले यस्तै झुपडीका जीवन बोलिरहेका हुन्छन् । मजदुरको वास्तविक अवस्थालाई शब्दमा उतारेर उहाँले सांस्कृतिक आन्दोलन गर्नुभयो । उहाँका गीतले क्रान्ति, साहस र मुक्तिका कुरा बोल्छ । निधन भएको दुई वर्ष बिते पनि उहाँका गीत अहिलेको सामाजिक व्यवस्थासँग मेल खान्छ ।

मानिसको दैनिक जीवनसँग जोडिएका खुसीरामको खुसी भनेकै पछाडि परेका वर्गको उत्थान हो र समाज रूपान्तरण थियो । तर सपना पूरा नहुँदै ०७४ मंसिर ५ गते मञ्चमा गीत गाउँदागाउँदै हृदयघातबाट उहाँको निधन भएको थियो । आज काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालले ढिलै भए पनि उहाँलाई सम्झेर कार्यक्रम आयोजना ग¥यो । काठमाडौंको राष्ट्रिय नाचघरमा गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा आज कलाकारले पाख्रिनको ‘कालो वनको बीचै…’ मा गीत प्रस्तुत गरे ।

गृहमन्त्री थापाले पाख्रिनसँग भएको सहकार्यको स्मरण गर्दै भौतिक शरीर नरहे पनि सामाजिक रूपान्तरणका निम्ति उहाँसँगै रहेको प्रतिक्रिया दिनुभयो । ‘उहाँले गीत संगीतमार्फत शोषणकाविरुद्ध जनतालाई जागरुक बनाउन ठूलो भूमिका खेल्नुभएको छ, गणतन्त्र स्थापनामा उहाँको योगदान स्मरणीय छ । उहाँले सोचेको सपना पूरा गर्न अझै समाजवादको आन्दोलन जारी छ’, गृहमन्त्री थापाले थप्नुभयो ।

सुरुमा वेदना सांस्कृतिक समूहमा र पछि सामना सांस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिले पनि जीवन्त छन् । २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिनुभएका पाख्रिन प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा हुनुहुन्थ्यो । उहाँका झण्डै दुई सय गीत प्रकाशित र संगीतबद्ध गर्नुभएको अनुमान छ धेरै गीतहरू अप्रकाशित छन् ।

गायन, संगीत र रचनाकारका त्रिवेणीे पाख्रिन ०३५ सालदेखि औपचारिकरूपमा संगीतमा लाग्नुभएको हो । जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुःख र मुक्ति आन्दोलन तथा परिवर्तनका क्षेत्रमा उहाँको योगदान छ । ०३८ मा उहाँले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिकरूपमै ल्याउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांस्कृतिक विभाग प्रमुख मणि थापा जनवादी सांस्कृतिक आन्दोलनका सशक्त र प्रतिभाशाली पात्र पाख्रिनलाई भुल्दै गएकामा चिन्ता प्रकट गर्नुहुन्छ । पाख्रिनले जनजीवनसँग जोडिएका गीत पस्केर लोक जीवनलाई आधुनिकीकरण तथा क्रान्तिकारीकरण गरेको थापा स्मरण गर्नुहुन्छ ।

उहाँको सम्झनामा आज काठमाडौंमा कलाकारले गीत संगीत र कविता प्रस्तुत गरे । हालसालै भारतले नेपालको केही भूगोल समेटेर सार्वजनिक गरेको नक्साको मुलुकमा विरोध भइरहेको छ । झण्डैझण्डै पाख्रिनको अभियानसँग मेल खाने गरी तीन वर्षअघि नै गायक उदय श्रेष्ठले सीमा रक्षा गर्न गीतबाटै आह्वान गर्नुभएको थियो । पाख्रिनको सम्झनामा उहाँले आज त्यही गीत सुनाउनुभयो ।

पहाडका कुरा भए मधेसका कुरा
नबिर्साैं है हाम्रो लिपुलेक र लिम्पियाधुरा

यो गीतले वास्तविक राष्ट्रियता कलाकारसँग छ भन्ने देखाउँछ । कलाकारले तीन वर्षअघि गीतमा समेटेको कुरा आज ठूलो चर्चाको विषय बनेको छ । यस्तै राष्ट्रियता, जनजीवन र क्रान्तिकारीधार पाख्रिनको थियो । कवि केशव सिलवालले कवितामार्फत उहाँको योगदानको स्मरण गर्नुभयो ।

जनगायक पाख्रिनको गीत गाउँदा गाउँदै निधन भएको त्यो दिनको सम्झना अझै ताजै छ । ‘विश्व बदल्ने युवा शक्ति नै हुनुहुन्थ्यो, संसारका ठूला विद्रोह र आमूल परिवर्तन युवा शक्तिले नै भएको छ’ यति भनेर उहाँले चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको चौरमा आयोजना गरिएको एक स्मृतिसभामा गीत गाउनुभयो ।

युवा हो देश तिम्रै हो, भविष्य तिम्रै हो,
यो नेपाल बनाउने अभिभारा तिम्रै हो

जुन वेला दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरणको घोषणा भए पनि एकता भइसकेको थिएन । ०७४ मंसिर ५ मा गीतसंगीतको तालमा शरीर हल्लाउँदै तरुण जोशमा उहाँले गीत पस्किनुभएको थियो । त्यो दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउन ढिला हुँदा उहाँले खाली मञ्चको सदुपयोग गर्दै केही गीत पस्कन भ्याउनुभयो ।

हजारौँको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ

प्रस्तुति सकेर औपचारिक कार्यक्रममा आशनग्रहण गरेलगत्तै उहाँ अस्वस्थ हुनुभयो । केहीबेरमा चिकित्सकले हृदयघातका कारण निधन भएको पुष्टि गरे । जोशका साथ गीत गाइरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तक स्तब्ध भएका थिए ।

प्रतिक्रिया