पारिजात स्मृतिलाई जनमत सम्मान

काभ्रे । नेपाली साहित्यमा विशिष्ट योगदान दिएकी स्रष्टा पारिजातको नाममा स्थापित संस्थालाई सम्मान गरिएको छ । जनमत साहित्य वाटिकाको आयोजनामा र काभ्रे बहुमुखी क्याम्पसको सहआयोजनामा बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा पारिजात स्मृति केन्द्रलाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्मृति केन्द्रका सदस्यलाई सम्मान गरिएको हो । कार्यक्रममा स्मृति केन्द्रका अध्यक्ष जनगायक रायन, सचिव स्नेह सायमी, कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठका साथै अन्य सदस्यमा डा.महेश मास्के, इन्दिरा दली, लक्ष्मी उप्रेती, मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केजी बयदारले नेपाली साहित्यमा पािरजातको योगदान अतुलनीय रहेको बताए । उनले समाज रूपान्तरणमा समेत साहित्यकार पारिजातले महत्वपूर्ण योगदान दिएको भनाइ राखे । जनमत बाटिकाका संरक्षक मोहन दुवालले जनमतको साहित्यिक यात्रा र लेखिका पारिजातसँगको सम्बन्ध र पारिजातको उत्कृष्टताबारे चर्चा गरेका थिए । उनले भने, ‘नेपाली साहित्याकाशमा पारिजातले साहित्य, राजनीति तथा समाजसेवाका माध्यमबाट विशिष्ट योगदान दिनुभएको थियो । उहाँकै सम्मानमा उहाँका नाममा स्थापित संस्थालाई सम्मान गरिएको हो ।’

उक्त समारोहमा स्मृति केन्द्रका सदस्य तथा चीनका लागि नेपालका पूर्वराजदूत डा.महेश मास्केले नेपालको नक्सामा कालोपानी, लिपुलेक, लिम्पियाधुरा समेट्न नसक्नु नै नेपाल सरकारको कमजोरी रहेको धारणा राखे । उनले अन्तर्राष्ट्रियस्तरमा जानकारीका लागि प्रमाणहरू हुनुपर्ने र कूटनीतिका आधारमा समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रका सबै सदस्यले मन्तव्य र कविता वाचन गरेको थिए । कार्यक्रमको दोस्रो सत्रमा भारतीय अतिक्रमणका विरूद्ध काभ्रेली कविहरू कृष्णकुमार वैद्य, गोविन्दलाल प्रधानांग, तुयुकाजी ताम्राकार, दियेशरत्न शाक्य, नवराज दाहाल ‘उत्साही’, लक्ष्मी बडाल, विजयराम कर्माचार्य, शारदा घिमिरे भैल, शारदाप्रसाद शर्मा, समीन रिजाल, सुस्मिता न्यौपाने र हरिप्रसाद चौलागाईंले कविता वाचन गरेका थिए ।

कार्यक्रममका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा जनगायक रायनले पारिजातसँग जनमतको गाढा सम्बन्ध रहेको बताए । उनले जनमत साहित्यिक जगत्मा निकै प्रख्यात भइसकेको संस्थाको रहेको सुनाए । वाटिकाका संयोजक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिक्रिया