बस दुर्घटनामा १८ को मृत्यु

तस्विर : हृदय भुसाल

अर्घाखाँची । सन्धिखर्कमा भएको यात्रुबहाक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट वुटवलतर्फ जादै गरेको २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटनामा परेको हो ।  बस घुम्तिमा पुगेपछि दुर्घटना भएको घाइतेले बताएका छन् । दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बाटोकोे घुम्ति बनाउन खनेको ठाउँबाट बस खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार घुम्तिमा खनेको सडकमा बस भासिएपछि ५ सय मिटर तल खसेको थियो । उद्धारका लागि स्थानियवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार कार्यलाई तीव्रता दिएको बताए । दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए । ज्यान गुमाउनेका ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रजिअ बेल्बासेले जानकारी दिए । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।

 

बाटोकोे घुम्ति बनाउन खनेको ठाउँबाट बस खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार घुम्तिमा खनेको सडकमा बस भासिएपछि ५ सय मिटर तल खसेको हो । ज्यान गुमाउनेका ११ जना पुरुष र ७ जना महिला रहेका छन् ।

 

यो समाचार तयार पार्दासम्म गाडी चालक अन्दाजी वर्ष ३० का ओमबहादुर थापा (वसन्त) भन्नेको मात्रै सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ । भिरालो ठाउँबाट बस तल खसेकाले राति बत्ती बालेर उद्धार गरिएको थियो । बसमा ३५ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि सन्धिखर्कबाट हिँड्दा ३१ जना सबार रहेको र बिच बाटोबाट कति यात्रु चढे भनेर यकिन हुन सकेको छैन । नरपानीको रातामाटामा दुई महिना नबित्दै तेस्रो दुर्घटना भएको हो । यसअघि सोही ठाउमा करिब तीन साताअघि कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । नेपालमा बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउने गर्दछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपाल बर्सेनि ४५ सयले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखाएको छ । तर, सरकारी तथ्यांकले भने २५ सयले ज्यान गुमाउने गरेको उल्लेख छ ।

हुम्लामा तीन जनाको मृत्यु
हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं. टिपर सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा नाम्खा गाउँपालिका–१ हेप्का गाउँका छिरिङ लामा, नोरी लामा र तान्ज्योत लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिप्पर सडकभन्दा करिब ३० मिटर तल खसेको छ । घाइतेहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

टिपर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीको आरोप छ । तर, प्रहरीले भने दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ । घाइतेको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पतालमा पुगेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया