प्रधानमन्त्रीको अस्वस्थताले प्याकेज घोषणा प्रभावित !

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुई दिनदेखि यसको तयारी गरिरहेका थिए ।

प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष (स्पेसल) प्याकेज घोषणा गर्ने कार्यक्रमसमेत रहेको सदस्य सिचव सिलवाले सुनाएका थिए । त्यसैले सागमा सहभागी हुने खेलाडी अफिसियल सबै उत्साहित थिए । काठमाडौं मात्र नभएर तयारीका क्रममा पोखरामा रहेका खेलाडीहरूसमेत मंगलबार काठमाडौं आइपुगे प्रधानमन्त्रीको विशेष प्याकेज सुन्न । कार्यक्रम ११ बजेको लागि तय थियो । तर मंगलवार बिहानै प्रधामन्त्री बिरामी भएर अस्पताल भर्ना भएको खबर आयो ।

ओलीको एपेन्डाइटिसको शल्यक्रिया भएकाले उनी कमलादीस्थित प्रज्ञा भवनमा उपस्थित हुन सकेनन् । ‘प्रधानमन्त्रीले आफैँ उपस्थित भएर खेलाडीहरूलाई हौसला दिन चाहन्छु नयाँ ढंगले अगाडि बढ्न मार्ग निर्देशन गर्न चाहन्छु भन्नुभाथ्यो । तर स्वास्थ्यमा समस्यामा कारण हस्पिटल जानुपर्यो उहाँ आउन सक्नुभएन’ राखेप सदस्य सचिव सिलवालले कार्यक्रममा भने ।

प्रधानमन्त्रीको सट्टा खेलाडीलाई सम्बोधन गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडा कार्यक्रममा उपस्थित भएका थिए । प्रधानमन्त्री आउने सम्भावना नभएपछि उनले अर्थमन्त्रीलाई पठाएको सिलवालले बताए । तर, प्रधानमन्त्रीले सम्बोधन गर्दै घोषणा गर्ने भनिएको विशेष प्याकेज अर्थमन्त्री आउँदा भने घोषणा भएन ।

अर्थमन्त्री खतिवडाले दुई विषयमा भनाइ राखे । पहिलो, सागमा पदक जित्ने खेलाडीको पुरस्कारमा वृद्धि गर्ने, अर्को भलिबलको लागि कभर्डहल सरकारले बनाउने । १३ औँ साग हुन लाग्दा पदक जित्ने खेलाडीको पुरस्कार रकम वृद्धि हुने भनिए पनि कति हुने उनले घोषणा गरेनन् । ‘सागको पुरस्कार राशिमा उलेख्य वृद्धि हुन्छ । युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरोस्, मन्त्रिपरिषद्ले निर्णय गर्छ, अहिले भइरहेको पुरस्कारमा पुरस्कारमा उल्लेख्य वृद्धि हुन्छ’ अर्थमन्त्री खतिवडाले भने ।

तर, अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्बाट पारित नभई यति रकम वृद्धि हुन्छ भनेर भन्न नसकिने बताए । यसअघि सरकारले सागमा स्वर्ण जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र कास्य जित्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिएको थियो । १२ औँ सागमा यहीअनुसार पुरस्कार दिइएको थियो । अब त्यो रकममा कति वृद्धि हुन्छ भन्ने अहिल्यै थाहा छैन ।

यस्तै अर्थमन्त्री खतिवडाले नेपालको राष्ट्रिय खेल भलिबलको लागि अब सरकारले आफ्नै कभर्डहल बनाउने घोषणा गरे । त्यसका लागि जग्गा आवश्यक रहेको सनाए । ‘सरकारले भलिबलको आफ्नै कभर्डहल बनाउने छ । कभर्डहलका लागि जग्गा खोज्ने काम गरिरहेका छौँ,’ अर्थमन्त्री खतिवडाले भने ।

तीन वर्षअघि सरकारले नै भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, कभर्डहल नहुँदा खेलाडीले नियमित ट्रेनिङ गर्न पाइरहेका छैनन् । कात्तिक २८ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाली महिला टिमले जितेपछि भने अहिले सबैको नजर भलिबलमा पर्न थालेको छ ।

सेन्ट्रल जोनको उपाधि जित्ने नेपाली टोलीका १६ सदस्यलाई सरकारले मंगलबारै पूर्वघोषित कार्यक्रम अनुसार जनही तीन लाख नगदबाट पुरस्कृत गरेको छ ।

प्रतिक्रिया