खेल-खेलाडी

एपीएफ चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

सौर्य अनलाइन २०७६ मंसिर ९ गते ८:५२ मा प्रकाशित

काठमाडौं । विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  एपीएफले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा एपीएफलाई अन्तिम चारमा पु¥याउन प्रविन स्याङ्तानले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्यो । प्रविनले खेलको १५औँ मिनेटमा गोल गरेका थिए ।

रामकुमार कुमालको क्रसमा प्रविनको बक्सभित्रको शक्रिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि खेलको सातौ मिनेटमा प्रविनले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । २९औँ मिनेटमा सरस्वतीका दीपक भुषालको फ्रिकिकलाई तीर्थ बस्नेतले हेडर प्रयास गरेपनि गोलको दिशा दिन सकेन ।

७७औँ मिनेटमा नवीन लामाको क्रसलाई राजीव लोप्चनले पेनाल्टी बक्सभित्र भेट्न सकेन । अन्तिम १० मिनेट सरस्वतीले एपीएफलाई दबाबमा राखे पनि गोल गर्न सकेन । ८३औँ मिनेटमा विश्व अधिकारीको प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले सहजै बचाइदिए । त्यसपछि गोल हुन नसक्दा एपीएफ १–० ले विजयी हुन सफल भयो । एपीएफका डिफेन्डर रमेश दंगाल सरस्वतीको हरेक आक्रमणमा बाधक बने ।

उनले सरस्वतीको झन्डै एक दर्जन प्रयासलाई ब्लक गरिदिएका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकी र आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले प्रदान गरे ।

यससँगै चन्द्रागिरि गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र विभागीय नेपाल पुलिसका क्लबबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एपीएफले सेमिफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ । सोमबार कुनै खेल हुने छैन । खेलहरू नैकाप फुटबल मैदानमा दिउँसो २ बजेपछि हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय