सागको काउन्ट डाउन सुरु

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु गरिएको छ ।  शनिबार प्रचार प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३औँ साग आयोजक समितिका सदस्य–सचिव रमेशकुमार सिलवालले सो बारे जानकारी गराए । सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको छ ।

सदस्य–सचिव सिलवालले १३ औँ सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए । यसअघि १९९९ मा नेपालमै भएको आठौँ सागमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । सोही अवसरमा सदस्य–सचिव सिलवालले साग खेल सारा नेपालीहरूको गौरवको विषय रहेको बताउँदै यसलाई सफल पार्न सबै पक्षसँग आह्वान गरे ।

उनले भने– ‘साग गेम्स एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै पक्ष मिलेर सागलाई सफल पारौँ’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथि रहेकाले त्यसपछि मात्र खेलाडीहरूको पूर्ण जानकारी प्राप्त हुने बताए ।

उनले उत्शाहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको पनि बताए । उनले प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको पनि बताए । सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ ।

२० वर्ष अगाडी जम्मा १२ खेल समावेश गरि आठौँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकाले व्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ । सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी पाहुनालाई हामी स्वागत गर्दैछाँै । काठमाडौं सहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ ।

काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुनेछ । (फुटबल, भलिबल र क्रिकेटका खेलहरू पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ ।) प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको आयोजनासँगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ ।

विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झण्डै दोब्बर भत्ताको व्यवस्था गरिएको छ । नेपाल सरकारबाट १३औँ साग आयोजनाको निम्ति करिब साढे ४ अर्ब रुपैयाँको बजेट निकासा भएको छ । जसमा पूर्वाधार निर्माणको निम्ति १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्ब ६५ करोड बजेट रहेको छ । आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ ।

पत्रकार सम्मेलनपछि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उद्घाटन गरिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्य–सचिव रमेशकुमार सिलवालले रिबिन काटेपछि डिस्प्लेमा प्रोमो प्रशारण भएको थियो ।

प्रतिक्रिया