खोजखबर

जियो फिजिक्स सर्भे सम्पन्न

मोहन पौडेल २०७६ मंसिर १ गते ७:०४ मा प्रकाशित

बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ ।

युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो ।

कात्तिक २१ गतेदेखि सुरू भएको अध्ययन कात्तिक २७ गते सम्पन्न भएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले जानकारी दिए । टोलीले स्तूप क्षेत्रमा जमिनको सतहमुनि रहेका संरचनाको अध्ययन गरी फर्किएको छ । अध्ययनको विस्तृत प्रतिवेदन भने आगामी जनवरी महिनामा सार्वजनिक हुने उनले बताए । यहाँको अध्ययन सकेर विज्ञ टोली तिलौराकोट पुगेको हो ।

उनले भने, ‘दुई विदेशीसहित तीन सदस्यीय विज्ञ टोलीले स्तूप क्षेत्र वरपरको चारैदिशामा ५ सय मिटर क्षेत्रफलभित्र तीन प्रकारको अध्ययन गरेको छ, जियो फिजिक्स, फिल्ड वाकिङ र अगरकोर प्रविधिबाट गरिएका अध्ययनको अहिले विज्ञले एकीकृत गर्ने काम गरिरहेका छन्, यसको विस्तृत प्रतिवेदन जनवरीमा आउँछ, त्यहाँको काम सकेर बुधबार नै हामी तिलौराकोट आएका छौँ, केही दिनमा हामी त्यहाँको प्रारम्भिक प्रतिवेदन दिन्छौँ ।’

अध्ययन गरिएका सबै ठाउँमा महत्वपूर्ण प्रमाण रहेको संकेत देखिएको उनले बताए । विज्ञ टोलीले खाली रहेको क्षेत्रमा जियो फिजिक्स प्रविधिबाट तथा झाडी र रूख रहेको ठाउँमा अगरकोर प्रविधिमार्फत अध्ययन गरेको थियो भने जमिनमुनि रहेका संरचनाको मेसिनको सहायताले हिँडेर पत्ता लगाउने विधि पनि अपनाएको थियो ।

अध्ययन टोलीले स्तूपको दक्षिणतर्फको झाडी र खाली जग्गामुनि पर्खाल देखिएको जनाएको छ । अन्य क्षेत्रमा देखिएका संरचनाको विवरण विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्र भन्न सकिने पुरातत्वविद् पाठकले बताए । संकेत देखिएका ठाउँमा जोखिम क्षेत्र तोकी त्यहाँ कुनै पनि किसिमको संरचना नबनाउन तथा माटो खन्नसमेत रोक लगाउनका लागि केही दिनमै सांकेतिक चिह्न राखेर स्थानीय नागरिकलाई सचेत गराउने अध्ययन टोलीले तयारी गरेको छ ।

गत वर्ष सन् २०१८ मा गरिएको जियो फिजिक्स सर्भेका क्रममा पनि स्तूपको उत्तरतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको विहार र पोखरी रहेको देखाएको थियो । विश्वसम्पदा सूचीमा सूचिकृतको प्रक्रियामा रहेको रामग्रामलाई विश्वसम्पदा सूचिमा समावेशका लागि यथेष्ट प्रमाण संकलन गर्न र रामग्रामको विकासका लागि बनाइएको गुरुयोजनालाई पूर्णता दिनसमेत यसपटक स्तूपको समग्र क्षेत्र समेट्ने गरी बृहत् अध्ययन गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले बताए ।

इतिहासविद् डा.डब्लु होइद्वारा पत्ता लगाइएको रामग्राम स्तूप क्षेत्रमा यसअघि सन् १९९७, १९९९ र २०१८ मा गरी तीनपटक जियो फिजिक्स सर्भे भएको थियो । सन् १९९७ र १९९९ मा गरिएको जियो फिजिक्स सर्भेबाट स्तूप क्षेत्र वरपर विहार देखिएपछि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा सन् १९९९ देखि २००४ सम्म विभिन्न चरणमा रामग्रामको उत्खनन् गरिएको थियो ।

त्यसबखत स्तूपको उत्तर, पश्चिम र पूर्वमा उत्खनन् गर्दा बौद्ध विहार तथा मौर्यकालीन संरचना फेला परेको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । त्यसपछि भने हालसम्म पनि रामग्राम स्तूपको उत्खनन् हुन सकेको छैन ।

अहिलेको सर्भेबाट स्तूपको समग्र क्षेत्रमा रहेका पुरातात्विक संरचनाको जानकारी हुने र उत्खननको तयारी गरिने उनले बताए । आगामी जनवरीमा पनि स्तूप क्षेत्रको बाँकी रहेको भागमा जियो फिजिक्स सर्भे गरिने लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमालकुमार उप्रेतीले जानकारी दिए ।

सोही समयमा बुद्धसँग जोडिएको कोलीय गणराज्यको राजधानी पण्डितपुरमा पनि जियो फिजिक्स सर्भे गर्ने तयारी गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । हाल स्तूप २४ बिघा क्षेत्रफलमा फैलिएको अनुमान छ । कोषले स्तूप क्षेत्रमा जग्गा अधिग्रहणको पनि तयारी गरेको छ ।

स्तूप क्षेत्रमा चौँथोपटकको भू–भौतिक अध्ययनसँगै रामग्राम क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाको खाकालाई पनि अन्तिम रुप दिने तयारी गरिएको छ । लुम्बिनी विकास कोषले स्तूपको समग्र विकास गर्ने उद्देश्यले सात अर्ब बढीको लागत अनुमानसहितको गुरुयोजनाको खाका तयार पारेको छ । यस अध्ययनले स्तूप क्षेत्र र आसपासमा रहेका पूरातात्विक भग्नावशेष तथा संरचना पत्ता लागेपछि सम्पदा संरक्षण हुने गरी गुरुयोजनामा कहाँ के विकास गर्ने भन्ने समावेशन गरिने कोषका उपाध्यक्ष मैत्यले बताए ।

‘रामग्राम स्तूप क्षेत्रमा यसअघि गरिएका अध्ययन तथा उत्खननबाट पनि महत्वपूर्ण प्रमाण फेला परिसकेका छन्, अहिलेको अध्ययनपछि रामग्राम क्षेत्रले ओगट्ने क्षेत्रफल र यस क्षेत्रभित्र कहाँ कुन संरचना तथा पुरातात्विक भग्नावशेष छन् भन्ने यकिन हुनेछ, त्यसपछि यहाँको मूल प्रतिरूप नबिग्रने गरी जोखिम नरहेको बाँकी क्षेत्रमा विकास गर्ने गरी गुरुयोजना अन्तिम रूप दिने तयारी छ’, उनले भने ।

विभागीयमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी मन्त्रिपरिषद्बाटै पारित गराएर गुरुयोजनालाई दिगोरूपमा अघि बढाउने तयारी भइरहेको बताउँदै उनले लुम्बिनीपछिको दोस्रो महत्वपूर्णस्थलका रूपमा रामग्रामलाई विकास गर्न लागिएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलेसमेत यहाँको विकासमा गम्भीर चासो प्रकट गर्दै आएका छन् । रामग्रामको विकासका लागि बनाइएको गुरुयोजना हरेक कोणबाट विश्लेषण गरिएको बताउँदै कोषका उपाध्यक्ष भिक्षु मैत्यले भने, ‘स्तूप क्षेत्रमा बाढीले पार्ने प्रभाव, यसले ओगट्ने यकिन क्षेत्रफल र प्रभाव, भविष्यमा स्थानीय नागरिकलाई हुने फाइदालगायत हरेक कोणबाट विश्लेषण गरी योजना बनाइएको छ ।’

गुरुयोजनालाई स्थानीय नागरिकको जीवनस्तरसँग जोड्ने प्रयास गरिएको छ । यहाँको विकास प्रत्यक्ष रोजगारी र जीवनस्तर परिवर्तनमा जोडिन आवश्यक रहेको बताउँदै उनले गुरुयोजनाअनुसार विकास गर्दा यहाँ प्रत्यक्षरूपमा एक सयबढीले रोजगारी पाउने जानकारी दिए ।

पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरका अनुसार भगवान् शाक्यमुनि बुद्धको महापरिनिवार्णपश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राम स्तूपको निर्माण गरिएको हो ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायतका बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाइएका स्तूप उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार स–साना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागाराजाले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकाले बुद्धका आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूपमात्र पवित्र र उत्खनन् नभएको स्तूपका रूपमा मानिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय