नेपालमा विशेषगरी दसैँ, तिहार, छठजस्ता पर्वहरूमा सडक दुर्घटनाहरू बढी हुने गरेको तथ्यांकहरू ट्राफिक प्रहरीले समय समयमा सार्वजनिक गरेको पाइन्छ । गएको केही दिनअघि मात्रै सिन्धुपाल्चोकबाट काठमाडौं आएको यात्रुवाहक बस अत्यधिक भारका कारण काठमाडौंको शंखरापुरमा दुर्घटना हुँदा तीनजनाको ज्यान गयो भने १७ गते आइतबार दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रुले खचाखच भरिएको बस सुनकोसी नदीमा खस्दा १७ जनाले ज्यान गुमाए भने म्याग्दीको विम भीरमा मिनीबस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए भने थुप्रै घाइतेहरूको अस्पतालमा उपचार भइरहेको समाचारहरू आइरहेका छन् ।
पछिल्लो समय सरकारले सिन्डिकेट हटेको जनाएता पनि यात्रुहरू गन्तव्यमा सहजरूपमा पुग्नसकेका छैनन् घण्टौँको पर्खाइपछि सार्वजनिक यातायात कुर्नुपर्ने बाध्यता भएका कारण पनि दुर्घटना बढेको सहजै अनुमान लगाउन सकिन्छ । भर्खरै भएका चारवटा दुर्घटनाको कारण हेर्दा सवारी सिट क्षमताभन्दा बढी यात्रुहरू बोकेका कारण बसको बे्रकफेल भएर दुर्घटना भएको देखिन्छ । पुराना र थोत्रा गाडीहरू समयमै मर्मत सम्भार नगर्ने बानीले गर्दा यात्रुहरूले अनाहकमा ज्यान गुमाउन पुगेका छन् । सरकारले सडकहरूको निर्माण कार्य र समयमै स्तरोन्नति समयमै सम्पन्न गर्न नसक्दा दिनहुँजसो सवारी दुर्घटनाहरू हुने गरेका छन् । सडकहरू जीर्ण, खाल्डाखुल्डी भएका कारण पनि सडक दुर्घटनाहरू बढ्ढै गइरहेका छन् ।
अझै पनि नेपालका कैयन स्थानहरूमा सडक सञ्जालको योजनाबद्घ विकास हुननसक्दा यातायातको सुविधाबाट नागरिकहरू वञ्चित हुन पुगेका छन् । राजधानी भित्रकै राम्रा र चिल्ला सडकहरूमा समेत दिनहुँ हुने दुर्घटनाबाट कैयन नागरिकहरूले ज्यान गुमाएका छन् भने कैयन नेपालीहरू अंगभंग भै अपांग जीवन बिताउन बाध्य भएका छन् । नेपालमा बर्सेनि सडक दुर्घटनाबाट थुप्रै नागरिकहरूले ज्यान गुमाउनु नपरोस् भनेर सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल सरकारले समय समयमा विभिन्न कार्यक्रमहरू ल्याएता पनि प्रभावकारी हुन सकिरहेको देखिँदैन् । ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव ०७५÷७६ मा ८९१८ दुर्घटना भएको तथ्यांकले देखाएको छ ।
ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, गलत र जथाभावी ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतीका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेको जनाएको छ । मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम पालना नगर्नु, मौसम, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय त्रुटि आदी कारण मुख्य रूपमा रहेका छन् । सरसर्ति हेर्दा सडक दुर्घटनाका मुख्य कारक तत्वहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छः
१. सडकको भौतिक अवस्था र पूर्वाधारः नेपालको भौतिक अवस्था हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ । हिमाल र पहाडका अधिकांश सडकहरू घुमाउरो, साँघुरो र उहाली, ओराली र घुम्तीहरू रहेका छन् । एउटै पडाडमा धेरै फन्का लगाउँदा चालकहरूलाई रिंगटा लाग्ने, थाक्ने र सन्तुलन गुमाउने र साना सडकहरूमा सवारीसाधनहरूलाई साइड दिँदा सवारीसाधनहरू ठोक्किएर दुर्घटना हुने गर्दछन् भने सडकका मोडहरू, ओराली, उकाली बाटोमा ब्रेकले साथ नदिने, स्टेयरिङ नउल्टने कारण पनि दुर्घटना हुने गर्दछ ।
त्यस्तै गरी सडकको स्तरोन्नति नभएका ठाउँहरूमा जर्वजस्ती सवारी चलाउनु, पहाडी सडकहरूमा कालोपत्रे नहुनु, धेरै मोडहरू र घुम्तीहरू हुनु र पर्याप्त मात्रामा ट्राफिक संकेतहरू नहुनु, त्यस्ता सडकहरूमा चालकहरूले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाहरू हुने गरेको छ । त्यस्तै, गरी सडकमा सवारीसाधनअनुसार लेन फरक नहुनु, सडक छेउमा अव्यवस्थित अतिक्रमण गरी बनाइएका संरचनाहरू, जथाभावी पार्किङले गर्दा पनि दुर्घटना भइरहेका छन् ।
२. ट्राफिक नियमको पालना नगर्नुः नेपाल सरकारले सडकहरूमा पर्याप्त मात्रामा ट्राफिक लाइटको व्यवस्था गर्न सकेको छैन भने भएका संकेत चिन्हहरूसमेत मर्मत गर्नसकिरहेको छैन । सडकमा ट्राफिक प्रहरीको संकेत अनुसार सवारीसाधन चलाउनुपर्ने बाध्यता रहीआएको छ । उपत्यका भित्रिने र बाहिरिने स्थानहरूमा समेत ट्राफिक चिन्हहरूको अभावका कारण सडक दुर्घटना भइराखेका छन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकहरूले अनिवार्य रूपमा विविध ट्राफिक नियम र लेन अनुशासन पालना गराउने नियम ल्याएता पनि व्यवहारमा लागू हुन सकिरहेको छैन ।
ट्राफिक प्रहरीको निर्देशन अवज्ञा गर्दै सवारीसाधन चलाउने गलत प्रवृत्तिले गर्दा सवारी दुर्घटनामा वृद्घि हुँदै गइरहेको छ । मापसे चेकका अलावा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू समय समयमा ल्याई जनचेतना जगाउने कार्यक्रमहरू गरिरहेको देखिन्छ । सडक दुर्घटना कम गराउने दायित्व सडक प्रयोगकर्ता, सवारीचालक सबैको भएकोलेसबै सचेत र सतर्क हुनसकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुन सक्दछ । नेपालका कतिपय स्थानहरूमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकहरूले जथाभावी सवारीसाधन चलाउँदा दुर्घटना हुनेगरेको छ ।
नेपालमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ भने सार्वजनिक सवारीसाधनहरूसमेत दुर्घटना हुने अग्रपंक्तिमा रहेको छ । सरकारले सवारी अनुमति पत्र प्रदान गर्ने कानुन फितलो भएका कारण जस्तोसुकै व्यक्तिले पनि लाइसेन्स पाएकै कारण दुर्घटना बढ्न गएको कुरालाई नकार्न सकिन्न् । सिट बेल्ट नबान्ने, हेल्मेट नलगाउने, मापसे गर्नेलाई हदैसम्मको कारवाही गर्नसकेको खण्डका अलावा सवारीसाधनको गति नियन्त्रण गर्नसकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्नसकिन्छ । नेपाल सरकारले सडकअनुसार ट्राफिक प्रहरीहरूको संख्यामा समेत वृद्घि गर्नुपर्ने आवश्यकता रहेको छ ।
३ यान्त्रिक कारणः सवारीसाधनहरूमा प्रयोग हुने नक्कली र कमसल पार्टपुर्जा, कमसल ल्युव्रिकेन्ट प्रयोगका कारणका अलावा चालकहरूले सवारी चलाउनुपुर्व आफ्नो सवारीसाधनको क्लच, ब्याट्री, चक्काको नटहरू, टायरको हावा, पानी को चेकजाँच नगरी सवारी चलाउँदा दुर्घटना हुने गरेको पाईएकोछ । सवारी ऐन २०४९ मा सवारीसाधनहरू परीक्षण गरी चलाउनुपर्ने र निश्चित अवधिपश्चात् परीक्षणपछि मात्र सडकमा गुडाउन अनुमति दिनुपर्ने प्रावधान रहेता पनि सार्वजनिक तथा निजी सवारीसाधनहरू विना परीक्षण सडकमा चलाइरहेको हामी पाउँदछौँ । यातायात विभागले सार्वजनिक सवारीसाधनहरूको परीक्षण गर्ने जिम्मा पाएता पनि व्यवहारमा लागू भएको छैन । सरकारले दिने हरियो स्टिकर समेत सवारीसाधनहरूको चेकजाँचविनै पाइनुले यातायात व्यवस्था विभागमा भएको विकृतिको झल्को अवस्यै दिन्छ ।
४ तीव्र गतिः सवारीसाधन चलाउँदा सीमित गतिमा चलाउनुपर्दछ । नक्कली लाइसेन्स बोकेका र कलिला उमेरका सहचालकहरूले सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ । राजधानीका साँघुरा सडकहरू र भर्खरै बनेका सवारीसाधन चलाउन अनुमती प्राप्त नभएका सडकहरूमा तिब्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरिएको पाईएको छ । राजधानी बाहिरीने र भित्रिने राजमार्गहरूमा जथाभावी ओभरटेक गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि सवारी दुर्घटना हुने गरेको पाइएको छ ।
तिब्र गतिमा सवारीसाधन कुदाउंदा जेब्राक्रसबाट बाटो पार गर्ने सर्वसाधारणहरू, बाटो छेउबाट हिँडिरहेका बटुवाहरू अनाहकमै ज्यान गुमाउन पुगेका छन् भने तिब्र गतिकै कारण ट्राफिक संकेतमा रातो बत्ी बल्दा समेत सवारीसाधन रोक्न नसकी अगाडिका सवारीसाधनहरूमा ठोक्कीन पुगी जनधनको क्षति हुने गरेको पाईएको छ । राजमार्ग बाहिर जाने सवारीसाधनहरूमा दुईजना चालकको व्यवस्था गर्नु भन्ने सरकारी नियमलाई समेत लत्याउने र राजमार्गका सडकहरूमा तीव्र गतिमा सवारी हाँक्ने र एकले अर्कालाई उछिन्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा सडक दुर्घटना बढ्ढैे गइरहेको छ ।
५. मौसम तथा अन्य कारणहरूः नेपालमा हिउँद ऋतुमा विषेश गरी तराईका विभिन्न स्थानहरूमा सडकै नदेखिने गरी लाग्ने बाक्लो हुस्सुका कारण राजमार्ग र सहायक मार्गहरूमा सवारी दुर्घटना हुने गरेका छन् । वर्षात्याममा ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकहरूबाटै पानी बहने र खाल्डाखुल्डी नदेखिने हुँदा सवारी चालकलेसडक नै ठम्याउन कठिन हुने कारणले गर्दा सडक दुर्घटना हुनेगरेका छन् ।
कतिपय स्थानहरूमा पहिरो आई सडक अवरूद्घ हुने र वैकल्पिक बाटो प्रयोग गर्दा सडक माथीवाट ठुल्ठुला चट्टानहरू भmर्न गई दुर्घटना हुने गरेका छन् । मौसममा आउने परिवर्तनले गर्दा बाक्लो हुस्सु, शितलहर र पानी परेको अवस्थामा सवारी गति नियन्त्रण गरी सवारी नचलाउँदा सडकमा चिप्लिएर दुर्घटना हुने तथ्य ट्राफिक प्रहरीले जनाएको छ । सडकमा जथाभावी रूपमा छाडा गाईबस्तु, कुकुर, घर पालुवा जनावरहरू छोड्दा हुस्सु लागेको जाडो समयमा बाटो प्रष्ट नदेखिँदा सडक दुर्घटना हुने गरेको छ ।
६. मानवीय कारणः सवारी चालकहरूहरू मानसिक तनावमा रही लामो दूरी सम्म सवारी चलाउँदा थकान र निन्द्रामा रहनुका कारण आँखाको दृष्टि कम हुन गै दुर्घटना हुने गर्दछ । त्यस्तै गरी कम उमेरमै सवारीचालक अनुमति पत्र पाउनु, मोबाइल प्रयोग, अस्वस्त प्रतिस्पर्धा, देखासिकी, लापरबाहीसँग सवारीसाधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारीसाधनको बारे प्राविधिक ज्ञान नहुनु, ट्राफिक चिन्हहरूर ट्राफिक नियमको कार्यान्वयन नगर्नु सडक दुर्घटनाको मुख्य कारण हो ।
नेपाल सरकारले सडक दुर्घटना हुने मुख्य कारणहरू सरकारले बेलैमा पहिचान गरी ति समस्याहरूलाई समयमै समाधान गर्नसकिएको खण्डमा आमनागरिकहरूको जीउधनको सुरक्षा हुने कुरामा दुईमत हुनसक्दैन । सडककै लागि भनेर उठाइएको सवारी करको समेत सही रूपमा सदुपयोग गर्दै सडक मर्मत सम्भारलाई अगाडी बढाउनुपर्ने आवश्यकता रहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागी सरकार र आम नागरिकहरू बेलैमा सचेत र सतर्क हुनु आवश्यक रहेको छ ।
कमजोर सडक पूर्वाधार, अनुपयुक्त तथा पुराना सवारीसाधन, सवारी चालक र सडक प्रयोगकर्ताको लापरबाही कमगर्नका लागि नेपाल सरकारले ट्राफिक सचेतना कार्यक्रम सबै ठाउँमा लागू गराउँदै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरी जग देखी नै ट्राफिक नियमको सन्देश प्रवाह गर्नसकिएको खण्डमा भोलीका दिनहरूमा दुर्घटना कम हुने विश्वास लिन सकिन्छ । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ मा सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्नसक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकारको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता रहेको छ
।सवारीसाधनलाई समय समयमा मर्मत सम्भार गरी सवारीसाधनलाई चुस्त दुरूस्त अवस्थामा राखी सवारी चलाउने, सडकहरू मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरू स्वयं सचेत हुने र ट्राफिक नियमको पालना गर्ने परिपाटी अवलम्बन गर्नसकिएको खण्डमा सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नसकिन्छ । सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारले समयमै ट्राफिक बत्ती, लेन अनुशासनलगायतका व्यवस्था गर्नुअतिआवश्यक रहेको देखिन्छ । राजधानीका मुख्य चोकहरूमा ट्राफिक बत्ती नबलेको तथा मर्मत सम्भार नगरेको महिनौँ भइसक्दा पनि मर्मत नहुन दुःखद् विषय हो ।
प्रतिक्रिया