नेपालको दोस्रो जित

काठमाडौं । नेपालले बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।  पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा पाखा लागायो । नेपालले पहिलो सेटमा २५–१५ , दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–२० ले किर्गिस्तानलाई पराजित गरेको हो ।

उपाधि लक्ष्यसहित ढाका गएको नेपाली टोली किर्गिस्तानमाथि दबाबमा राख्न सफल भयो । पहिलो सेटमा सुरूआती चुनौती दिने प्रयास गरेको किर्गिस्तानले एक समय नेपालसँग ८–८ को बराबरी बनाएको थियो । यद्यपि, प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनपछि नेपाल १८–८ को अग्रता लिन सफल भयो । अन्तत् उक्त सेटमा उत्कृष्ट ब्लक गर्दा नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दै किर्गिस्तानमाथि दबाब बनायो ।

दोस्रो सेटमा भने किर्गिस्तानले चुनौती दिँदै नेपाललाई दबाब बनाउने प्रयास गरे पनि सफल हुन सकेन । प्रतिभा मालीको स्पाइकबाट दोस्रो सेटमा खाता खोले पनि नेपालले तालमेल गुमाउँदा दबाब बेहो¥यो । एक समयमा ११–८ को अग्रता लिएको नेपालले तालमेल गुमाउन पुगेपछि १२–११ ले पछि प¥यो । यद्यपि, नेपालले उक्त सेटमा २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा पनि किर्गिस्तानले चुनौती दिने प्रयास गरे पनि सफल हुन सकेन । किर्गिस्तानका खेलाडीको स्पाइक बाहिरिँदा नेपालले यस सेटमा खाता खोल्दै अग्रता बनाएको थियो । तर, किर्गिस्तानले चुनौती दिँदै नेपालसँग १५–१५ को बराबरी ग¥यो । लगातारका दुई सेटमा सहज जित निकालेर उच्च मनोबलका साथ खेलेको नेपाली टोलीले तेस्रो सेटमा पनि उत्कृष्ट लयलाई यथावत् राख्यो ।

तेस्रो सेटमा २५–२० ले आफ्नो पक्षमा बनाउँदै नेपालले सोझो सेटमा जित निश्चित ग¥यो । नेपालका प्रशिक्षक जगदीश भट्टले नियमित खेलाडी सरस्वती चौधरीलाई सुरूआती दुई सेटमा आराम दिएका थिए । तर तेस्रो सेटमा रेश्मा भण्डारीको स्थानमा सरस्वती कार्टमा उत्रिएकी थिइन् । अरूणा शाहीको कप्तानीमा रहेको नेपालीले मंगलबार आयोजक बंगलादेशको सामना गर्नेछ ।

च्याम्पियनसिपमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले बंगलादेशलाई पराजित गरे अंक तालिकाको शीर्षस्थानमा उक्लँदै फाइनलमा स्थान पक्का गर्नेछ । नेपालसहित आयोजक बंगलादेश र माल्दिभ्सले पनि फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।

माल्दिभ्सले लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । पराजित अफगानिस्तान भने अंकविहीन हुँदै च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । ३ खेलबाट ८ अंकसहित माल्दिभ्स शीर्षस्थानमा छ ।

लगातार दुई खेलमा जित हात पारेको नेपाल ६ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक रहेको आयोजक बंगलादेश तेस्रो तथा १ अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । तीन खेल नै खेलको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन । नेपालले अन्तिम खेल माल्दिभ्ससँग बुधबार खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत मंगलबार नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया