मानवनिर्मित ताल बन्दै

दैलेख । दैलेख जिल्लाको ऐतिहासिक ठाउँ कोटिला पञ्चकोशी क्षेत्रले परिचित छ । अब उक्त क्षेत्रका मानव निर्मित ताल बन्ने भएपछि यसको महत्व बढ्ने देखिन्छ ।

दुई वटा नगरपालिकाको बीच भागमा पर्ने कोटिलामा ताल बनाउन शनिबार नारायण नगरपालिका र दुल्लु नगरपालिकाका मेयर तथा उपमेयर लगायतको टोली दैलेख सदरमुकाममा जम्मा भएर ताल निर्माण प्रक्रिया अगाडि बढाएका हुन् । तालको सम्भाव्यता अध्ययन र बिस्तृत परियोजना प्रस्ताव तयारीको काम शविबारबाट थालिएको छ ।

सिआइएएस पश्चिमाञ्चल निमा कम्पनी र यी दुई नगरपालिकाका पदाधिकारीहरूबीच सम्झौता भइसकेको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । आयोजनाको प्रभावकारिता र लागत इस्टिमेटसमेत तयार पार्न नारायण नगरपालिकाले ४५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । इस्टिमेट कन्सल्टेन्सी कम्पनीले नै गर्ने जनाएको छ । तालको सुरुआत नारायण नगरपालिकाले पर्यटक आकर्षणका लागि गरे पनि यो तालले दुल्लु नगरपालिकाको केही भाग प्रभावित हुने भएकोले सहकार्यमा जोडिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले कर्णालीपत्रसँग बताए ।

यो ताल निर्माणका लागि चालु आवमै काम सुरु गर्न कर्णाली प्रदेश सरकारले तीन करोड रुपैयाँ विनियोजन गरेको छ । आयोजनाको लागत र समय बिस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएपछि मात्र एकिन हुने नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिएका छन् । अब उक्त क्षेत्रमा ताल निर्माण भएसँगै दैलेखमा प्रयटन विकास हुने दैलेखवासीको बुझाइरहेको यहाँका स्थानीयवासीले बताए ।

प्रतिक्रिया