भारतको शृंखलामा पुनरागमन

एजेन्सी, राजकोट । कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ खेलेपछि भारतले पाहुना टोली बंगलादेशविरुद्धको दोस्रो टी– २० क्रिकेटमा आठ विकेटको जित निकालेको छ । भारतको जितसँगै सिरिजमा भारतले १–१ को बराबरीमा ल्याउन सफल भयो । पहिलो टी– २० मा भारत पराजित भएको थियो । राजकोटमा पाहुना टोली बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य भारतले २ विकेट गुमाएर २६ बल बाँकी छँदै पूरा गरेको थियो ।

शर्माले आफ्नो सयौँ ट्वान्टी–२० क्रिकेट करियरमा अर्धशतकीय योगदान दिएपछि भारतले बिहीबार बंगलादेशविरुद्धको खेलमा रबाफिलो जित निकाल्दै शृंखला बराबरी गरेको छ । राजकोटमा भएको दोस्रो खेलमा पाहुना टोली बंगलादेशमाथि आठ विकेटको जित निकाल्दै भारतले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको हो ।

कप्तान शर्माले शिखर धवनसँग १ सय १८ रनको ओपनिङ साझेदारी गरेपछि भारतले १ सय ५४ रनको लक्ष्य १५.४ ओभरमा पूरा ग¥यो । ३२ वर्षे शर्माले २३ बलमा अर्धशतक बनाउँदा तीन छक्का पनि प्रहार गरेका थिए । ४३ बल खेल्ने क्रममा शर्माले समान ६÷६ चौका र छक्का हिर्काए । उनले १०औँ ओभरको पहिलो तीन बलमा बंगलादेशका मोसाद्दिक हुसेनको बलिङमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

राजकोटको पिचबारे म जानकारी थिएँ । यहाँ दोस्रो इनिङमा बलरमाथि हाबी हुन सकिन्थ्यो’, शर्माले भने, ‘त्यसको फाइदा उठाउँदै पावर प्लेको पनि सदुपयोग गरेँ । जसको कारण सहज जित प्राप्त सम्भव भयो ।’ ट्वान्टी–२० क्रिकेटमा सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो भारतीय ब्याट्सम्यान भएका शर्मा विश्वका भने दोस्रो स्थानमा छन् । पाकिस्तानका सोएब मल्लिकले सर्वाधिक १ सय ११ अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट खेलेका छन् । बिहीबार भारतलाई सहज जित दिलाउन ओपनर धवनले पनि ३१ रनको योगदान दिँदा लोकेश राहुल ८ रनमै पवेलियन फर्किएका थिए ।

तर, श्रेयस आयरले २४ रनको अविजित इनिङ खेल्दै कप्तान शर्मालाई साथ दिए । भारतको दुई विकेट बंगलादेशका बलर अमिनुल इस्लामले लिएका थिए । अन्य बलर भने भारतीय ब्याट्सम्यानविरुद्ध फिक्का साबित भए । त्यसअघि ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पारेको थियो ।

भारतका लेग स्पिनर युजभेन्द्र चाहलले महत्वपूर्ण दुई विकेट लिँदा सौम्य सरकार र मुस्फिकर रहिमलाई पवेलियनको बाटो देखाएका थिए । बंगलादेशका ब्याट्सम्यान मोहम्मद नैबले सर्वाधिक ३६ रन बनाउँदा कप्तान मेहमुदुल्लाह र सौम्य सरकार समान ३० रनमा आउट भएका थिए । त्यसअघि बंगलादेशले पहिलो विकेटका रूपमा ओपनर लिटन दासलाई २९ रनमा गुमाएको थियो । ७.१ ओभरमा दास रनआउटको शिकार हुँदा बंगलादेश ६० रनको बलियो स्थितिमा थियो । तर, त्यसपछि भारतीय बलरले लयमा बलिङ गर्दै रनको गति रोकेका थिए ।

प्रतिक्रिया