दम्पतीको हत्यापछि लुटपाटको आशंका

काभ्रे । जिल्लामा एक दम्पतीको हत्या भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा एक दम्पतीको हत्या भएको खुलेको छ । मृत अवस्थामा घरको तल्लो छिँडीमा श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमाया श्रेष्ठको शव मंगलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

प्रहरीले घटनाबारे सोमबार राती धारिलो हतियार प्रहारबाट दम्पतीको मृत्यु भएको जनाएको छ । ५५ वर्षका श्यामकृष्ण र ५० वर्षकी रुकुमाया श्रेष्ठले पैसाको कारोबार गरिरहेको जानकारी लुटेरा समूह वा व्यक्तिलाई जानकारी भएको हुनुपर्छ, पैसाकै कारण उनीहरूको हत्या भएको हुनसक्ने काभ्रे प्रहरी प्रमुख उपरिक्षक (एसपी) जयराज सापकोटाले बताए । मृतकहरूको शवको अवस्थाबारे जानकारी दिँदै सापकोटाले भने, ‘घाँटी रेटेको अवस्थामा र मृतकको औँला काटिएको अवस्था छ । प्रारम्भीक विषयहरू केलाउँदा प्रतिकारको पनि प्रयास भएको देखिन्छ ।

क्षतविक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरीटोली घटनास्थल पुगेको थियो, घटनास्थलबाट बियरको बोतल, गाँजा र सुर्तिका धुलो छरिएको थियो, हामीले घटनास्थल र घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर पनि प्रयोग गरेका छौँ । श्रेष्ठ दम्पतीले वर्षाैंदेखि साना किराना र मदिरा पसल सञ्चालन गर्दै आएका थिए । हामीले घटनाबारे थप अनुसन्धान जारिराखेका छौँ । आशा गरौँ छिट्टै वास्तविकता पत्ता लाग्नेछ ।’

प्रहरीको भनाइअनुसार घटनामा मुख्य कुरा पैसाको कारोबार भएको देखिन्छ । मृतकले एक सहकारीमार्फत ८ हजार ५ सय र भूकम्पको अन्तिम किस्ता भकुण्डेको लक्ष्मी बैंकको शाखाबाट लिएको समेत बुझिएको छ । छिमेकीका अनुसार घटना हुनुभन्दाअघि सोमबार राती ८ बजेतिर सुत्न लागेको भन्ने अन्तिम संवाद आफूहरूसँग भएको बताएका छन् । उनीहरूका अनुसार मदिरा पसल भएकोले अबेरसम्म खुला गर्दै आएका थिए । कहिलेकाहीँ पसल अबेरसम्म खुल्ने भएकोले मदिरा सेवन गर्न आएकाहरूसँग विवाद भएको हुनसक्नेसमेत उनीहरू बताउँछन् ।

प्रहरीले शवको मुचुल्का गर्दै शव थप परीक्षण गर्न शिरमेमोरियल अस्पताल बनेपामा पठाएको बताएको छ । मृत श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी, बुहारी र एक नाति छन् । मृतकका छोरा श्यामसुन्दर श्रेष्ठका अनुसार सोमबार बिहान मात्रै आमा रुकुमाया श्रेष्ठसँग अन्तिम संवाद भएको थयो । संवादमा सञ्चो विसञ्चो र खाना खाए नखाएको र भूकम्पमा बनेको घरको रङरोगन गर्ने मात्रै कुराकानी भएको बताए । उनले घटना जानकारी पाउने बित्तिकै आफू काठमाडांैबाट मंगलबार बिहान आएको बताए ।

प्रतिक्रिया