बिदेश भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी आज स्वदेश फर्कने

काठमाडौँ । केही दिनअघि राजकिय भ्रमणका लागि म्यानमार हुँदै जापान पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमण सकेर आज स्वदेश फर्कने भएकी छन् । म्यानमारबाट जापानका नयाँ सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सरिक हुन पुगेकी राष्ट्रपति भण्डारी आज राति स्वदेश फर्कने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मंगलबार आयोजित जापानी सम्राटको राज्यारोहण विशेष समारोहमा सरिक भएकी थिइन् । जापानको टोकियोमा आयोजित विशेष समारोहमा उनले नयाँ सम्राटलाई बधाई तथा शुभकामना दिएकी थिइन् । सो समारोहकै क्रममा राष्ट्रपति भण्डारीको समकक्षी भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटवार्ता भएको थियो ।

उक्त भेटघाटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई नेपाल भ्रमणका लागि राष्ट्रपति भण्डारीले निमन्त्रणा पनि गरेकी छन् । राष्ट्रपति भण्डारी समकक्षी विन माइन्टको निमन्त्रणामा राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलसहित असोज २९ गते म्यानमार प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारी म्यानमारपछि जापान भ्रमण गएकी थिइन् ।

प्रतिक्रिया