बहसमा शिल्पकला

काठमाडौं । नेपाली परम्परागत कलामा प्रयोग हुने शिल्पकलाका विषयमा गोष्ठी सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, शिल्प तथा परम्परागत चित्रकला विभागको आयोजनामा ‘नेपाली परम्परागत शिल्पकला विषयक गोष्ठी–२०७६’ को उद्घाटन क्रोधकला शिरोमणि कालु कुमालेले गरे ।

उक्त कार्यक्रममा ज्ञानेन्द्र विवशले ‘परम्परागत शिल्पकला परिचय, प्रभाव र प्रस्तुति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सम्पूर्ण कला विधाको मूल आधारभूमि नै शिल्पकला भएको बताए । उनले हरेक विधाका कलामा शिल्पकला हुने जिकिर गर्दै चित्रकला, हस्तकला, मूर्तिकला, लोककला आदिमा शिल्पकला अत्यन्त सूक्ष्म र सुन्दर रूपमा प्रस्तुत हुने धारणा राखे ।

उनले भने, ‘यदि कलामा शिल्पकला भएन भने त्यो कलाले आफ्नो कलात्मक सुन्दरता तथा कलाकारी परिचय प्रभावकारीरूपमा सार्वजनिक गर्न कदापि पनि सक्दैन । यस दृष्टिले हेर्दा स्पष्टतः शिल्पकला भन्नु कुनै पनि कलाको एक खास कौशलतापूर्ण सिर्जना हो । सिँगार हो । मिहिन कलाकर्मको पाटो हो ।’

उनले शिल्पकला सानोभन्दा सानो सूक्ष्म विषयलाई अंगिकार गर्दै कलाकर्म भएको बताए । विशेषतः पौभा, थाङ्का लगायत गुम्बा, बिहार, मन्दिर आदिका कलामा संरचित स–साना कला नै शिल्पकलाका परिचायक भएको बताउँदै उनले भने, ‘तिनमा शिल्पकलाको अंश नहुने हो भने त्यसको परिचय नै रहँदैन । अतः शिल्पकला सानोबाट प्रारम्भ भई यसको परिचयले व्यापकता ओगट्दछ । वास्तवमा परम्परागत कलाका अधिकांश काममा शिल्पकलाको मूल भूमिका हुने गर्दछ । परम्परागत कला तथा पौभा, थाङ्कामा शिल्पकलाको गहकिलो संलग्नताले नै ती कलाको परिचय रहँदै आएको छ ।’

विवशले अनेक जातजातिका मौलिक पहिचानका रूपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल हुने विचार व्यक्त गरे । उनले भने, ‘नेपालमा विभिन्न जातजातिले आफ्नो जातीय गौरवलाई मात्र चिनाउन सघाएको छैनन् राष्ट्रकै कला र सांस्कृतिक सम्पदाको समृद्धिलाई सशक्तरूपमा सम्बोधन गरेको छ ।’

विवशको कार्यपत्रमाथि टिप्पणी कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले शिल्पकलाको परिभाषालाई कार्यपत्रले विशेष जोड दिएको बताए । उनले शिल्पकलाको आयतनलाई कार्यपत्रले उजागर गरे पनि ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पाटोलाई समेट्नुपर्ने सुझाव दिए । त्यस्तै, कलाकार तथा समीक्षक मुकेश मल्लले ‘नेपाली परम्परागत शिल्प’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिल्पकलाको व्यापकतालाई कलाकारले मनन् गर्नुपर्ने धारणा राखे ।

उनले कलाकारको शिल्प क्षमता र दक्षताका आधारमा बनेका अनेकौँ बनावटहरू, प्रस्तुत गर्ने तौरतरिका, मोटिफ, बिम्ब वा प्रतीकलाई संगठित गर्ने सोच, परिकल्पना वा उचित रङ छनोट र प्रयोगकला शिल्पकलाको आधार भएको बताए । उनले भने, ‘शिल्पविनाको कला अपूर्ण हुन्छ । यसको बृहद् आयामलाई कलाकारले प्रस्तुत गर्न सक्नु नै शिल्पकलाको प्रमुख पाटो हो ।’ कलाकार तथा समीक्षक मल्लले कालिगढमा देखापर्ने शिल्पको मूल्यांकन र कदर सही ढंगले हुन नसकेको दुखेसो पोखे । उनले भने, ‘नेपालमा मात्रै नभइ विश्वकै कलालाई मूल्यांकन गर्दा कलाकारमा रहेको शिल्पपक्षलाई आधार मानेर गर्ने प्रचलन छ ।’

मल्लको कार्यपत्रमाथि टिप्पणी गर्दै कलाकार गणेशकुमार जिसीले शिल्पकलाका बारेमा उठान गरिएका विषयवस्तुले गाइडलाइनको काम गरेको बताए । उनले कार्यपत्रमा नेपाली कलाको परम्परागत पाटोलाई अझ मिहिन र प्रभावकारी रूपमा केलाउनुपर्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली परम्परागत शिल्पकलाको पाटोलाई केलाउन गोष्ठी सफल भएको बताए । उनले प्रतिष्ठानले आगामी दिनमा अझै प्रभावकारी र समयापेक्ष गतिविधि प्रतिष्ठानले गर्ने प्रतिबद्धता व्यक्त गरे । परम्परागत शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले नेपाली मौलिक कलाको रूपमा लामो समयदेखि प्रचलित परम्परागत कलामा रहेको शिल्पकारिताका बारेमा गोष्ठीले बहस चलाएको बताए ।

उनले भने, ‘कलामा रहेको शिल्प पक्षलाई सहज ढंगले बुझ्नका लागि कार्यशाला गरिएको हो । यसले नेपाली परम्परागत कलामा रहेको शिल्प पक्षलाई समेत केलाउने काम गरेको छ ।’ त्यस्तै, प्राज्ञ धर्मराज शाक्यले प्रतिष्ठानले शिल्पकलाका बारेमा बहस गरेको बताए । उनले कलामा शिल्पकारिताको महत्वपूर्ण स्थान हुने बताउँदै कलाकारमा शिल्पपक्ष भएन भने त्यो प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्ने जिकिर गरे ।

कार्यक्रममा कलाकार उदयचरण श्रेष्ठ, पूर्णप्रसाद हे्य्जू, मुक्तिसिंह थापा, राकेश अवाले, निमा लामा, भूमिराज चौलागाईं लगायतले शिल्पकलाका बारेमा बोलेका थिए ।

प्रतिक्रिया