पँधेरो पुरिएर धापमा परिणत

काभ्रे । खानेपानीको अभाव झेल्दै आएको तेमाल गाउँपालिकाका विभिन्न वडाका करिब १० हजार घरधुरीका लागि तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना द्रुत गतिमा अगाडि बढेको भए पनि आयोजनाले पूर्णता पाउन नसक्दै त्यस्ता पहिले उपभोग गर्दै आएका खानेपानीका स्रोतहरू छायामा पर्न थालेका छन् । सस्र्युखर्कको निकै पुरानो पँधेरो धापमा परिणत भएको छ । काभ्रेको तेमाल गाउँपालिका–१ स्थित रहेको तल्लो पँधेरो नामले प्रख्यात कुवा धापमा परिणत भएको छ ।

केही वर्षअघिबाट गाउँमा मोटरबाटो पुगेपछि सोही बाटोको कारण वर्षायाममा कच्ची सडकको माटो र ढुंगा बगाएर पँधेरो पुरिँदै आएको थियो । पछिल्लो केही वर्ष स्थानीयहरू मिलेर सफा गरे पनि सडकले बगाएको माटो व्यवस्थापन गर्न नसक्दा र पँधेरो हुँदै गएको कच्ची सडकमा ढलको व्यवस्थापन नगर्दा डुबेर धापमा परिणत भएको स्थानीय इन्द्रप्रसाद पाण्डेले बताए ।

उनले भने, ‘कच्ची रोड तेमाल गाउँपालिका–१ को साहुटोल, खानीगाउँ र तल्लो बेँसीसम्म पुग्ने गरी खनिएको हो । तर, हामीले वर्षौंअघिबाट पिउने पानीका लागि प्रमुख स्रोतको रूपमा उपभोग गर्दै आएको खानेपानीको पँधेरो अहिले पुरिएर धाप भएको छ, उनले थपे, ‘कुनै समय सस्र्युखर्कको माथिल्लो भेगका स्थानीयले पानी यहीँ पँधेरोबाट लाने गर्दै आएका थिए । अहिले पानी लिन जाने कहीँ कुवा नै भेटिन्न । हामीले पनि केही वर्ष पहिले मात्रै जनचेतना मावि तल रहेको मूलको पानीलाई संकलन गरी ४८ घरधुरीलाई वितरण गरिएको पानीलाई नै पिउने पानीका रूपमा लिएका छौँ ।’

कुवाको इतिहास खोतल्ने हो भने त्यो सयौँ वर्ष पुरानो कुवा हो, त्यसमा धेरै कुवाहरू थिए, पानीको मूललाई व्यवस्थापन गरि एउटा धारासमेत राखिएको थियो । पहिले सबैलाई यही कुवाले भर दिलाएको थियो अहिले यो आफैँ धाप बनेको स्थानीय बताउँछन् । पानीको वैकल्पिक स्रोत मानिएको संकलन गरिएको धाराको पानी पनि कुनै दिन नआइदिँदा पानीको अभाव हुने गरेको स्थानीयको गुनासो रहेको छ ।

पानीको समस्या दीर्घकालीनरूपमा समस्या गर्न आयोजनाको काम तीव्र रूपमा चलेको भए पनि वैकल्पिक स्रोतका रूपमा पहिलेका खानेपानी मुहानको भने हेलत्व हुँदै आएको स्थानीय बताउँछन् । तेमाल गाउँपालिकाको सुनकोसी नदीबाट १२ किलोमिटर उचाइमा लिफ्टिङ प्रणालीबाट सो खानेपानीको काम अगाडि बढाइँदै आएको छ । १ अर्ब २७ करोडको लागतमा सञ्चालन हुँदै गरेको सो आयोजनाले तेमालवासीको खानेपानी अभाव पूरा गर्नेछ ।

आयोजनाको कामबारे जाकारीमा ७० प्रतिशतभन्दा बढी काम सकिसकेको तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाले जनाएको छ । नेपाल सरकारको सरकारको ९० तथा स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा आयोजना बन्न लागेको हो । ०७२ असारमा सम्झौता भएको आयोजनाको काम आउँदो ०७७ मंसिरभित्र सक्ने लक्ष्य लिएको बताइएको छ । आयोजनाको नदीमा फिल्टर गर्ने चार ट्यांकी तथा तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई रिजर्भ ट्यांकी निर्माण गरिसकेको छ ।

आयोजनाको लिफ्टिङका लागि १३ पम्पले पानी तान्ने तयारी गरिँदै छ । ती पम्पले रिजर्भ ट्यांकीमा प्रतिसेकेण्ड २३ लिटर पानी माथि फ्याक्ने बताइएको छ । आयोजनाको खानेपानी विस्तारका लागि २३ ट्यांकी, ११ सुरक्षागार्ड घर, एउटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य सकिसकेको आयोजनाले जनाएको छ । स्थानीयका अनुसार त्यस्ता कुवा, धारा र पानीका स्रोतलाई आयोजनाले प्रभावित नबनाई संरक्षण गरि वैकल्पिक स्रोतका रूपमा राख्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया