विश्वकप छनोटमा अस्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो। अस्ट्रेलियाका लागि जेमी माक्लारेनले ह्याट्रिक गरे। उनले खेलको छैठौँ, १९औँ र ९०औँ मिनेटमा गोल गरेका हुन्।

ह्यारी साउटरले २४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारेका थिए। त्यस्तै खेलको ५८औँ मिनेटमा आत्मघाती गोल भयो। साउटरले गरेको हेड प्रहार दिनेश राजवंशीको कम्मरमा लागेर गोल भएको थियो। एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो। उसले नेपाललाई खेल अवधिभर दबाबमा राख्यो। उसले तीन वटा फ्रि किक पायो। डि बक्स भन्दा अगाडि दुई वटा फ्रि किक प्राप्त गरेको थियो। तर त्यसलाई सदूपयोग भने गर्न सकेन।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो। यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो। त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो।

प्रतिक्रिया