चिनियाँ राष्ट्रपति सी को संघर्षपूर्ण विगत

काठमाडौं । चिनियां कम्युनिष्ट पार्टीको वैचारिक इतिहासमा सी विचारधारालाई संविधानमा नै लिपिबद्ध गरिएका वर्तमान चिनियां राष्ट्रपति सी जिनफिङलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ । माओ र देङपछिका सबैभन्दा शक्तिशाली र चर्चित लोकप्रिय नेताका रुपमा उलाई चिनिन्छ । त्यतिमात्र होईन चीनलाई विश्व शक्ति बनाउने उनको अठोटले काम गरेका उनको चीनमा मात्र होईन संसारभरमै चर्चा छ । अहिले शक्तिशाली राष्ट्रपति बनेका सी जिनफिङको जीवनमा कैयौं संयोग छन् । उनको जीवन त्यति सहज देखिंदैन । जीवनका कैयन उतारचढाव उनले झेलेका छन् । आफ्नै परिवारको उत्थान, पतन र फेरी उदयका श्रृंखला समेत उनले अनुभूति गरेका छन् । र, सबैभन्दा ठूलो कुरा उनले दुख, श्रम र कम्युनिष्ट पार्टीको महत्व बुझेका छन् ।

सन् १९५३ को जुन १५ मा सी झोङ्छन र क्वी सिनको दोश्रो छोराका रुपमा सी जिनपिङ बेइजिङमा जन्मिएका हुन । त्यतिबेला माओले चीनको नयां जनवादी क्रान्ति सम्पन्न भएर महान अग्रगामी युगको शुरुआत गरेका थिए । उनका बुवा त्यतिखेर पार्टी र सरकारको निकै महत्वपूर्ण पदमा थिए ।

उनी प्रचार प्रसार विभाग प्रमुख तथा राष्ट्रिय जन कंग्रेसका उपाध्यक्ष समते बनेका थिए । उनका एकजना दाजु थिए भने दुईजना दिदी । उनीहरुको पुख्र्यौली घर भने हेनान थियो ।

सी विचारधाराको एउटा महत्वपूर्ण अंग भनेको कम्युनिष्ट पार्टीभित्रको अनुशासन पनि हो । कम्युनिष्ट संस्कृतिका पक्षमा, सामूहिकता र भ्रष्टाचाररहित संस्कृतिको पक्षमा सी विचारधारा उभिएको छ ।

अनुशासनको पालना गराउनु उनको विचारधाराको मुख्य आधार पनि हो । तर संयोग नै भनौं, पार्टीको लाइनविपरित गतिविधि गरिएको भन्दै सीका बुवालाई भने सांस्कृतिक क्रान्तिको बेला कार्वाही गरिएको थियो । उनलाई पछि जेलमा हालिएको थियो ।

सांस्कृतिक क्रान्तिकै कालखण्डमा उनले आफ्नो दिदी पनि गुमाउनु पर्यो । तत्कालिन लडाकु विद्यार्थी दस्ताले दिदीको हत्या गरेको केही मिडियाले उल्लेख गरेका छन् । बुवालाई श्रम कारागारमा पठाउंदा उनी १५ वर्षका थिए । परिवारको साथ छुटेपछि पनि उनको कम्युनिष्ट पार्टीप्रतिको आस्थामा कमी आएन ।

सांस्कृतिक क्रान्तिकै अन्तिम ताका उनी युवा कम्युनिष्ट लिगका सदस्य भए । त्यसपछि उनले पार्टी सदस्यताका लागि आवेदन दिए । तर, उनको कम्युनिष्ट पार्टीको सदस्यता पाउने सपना त्यति सजिलै पुरा भएन । उनले दश पटक निवेदन दिएपछि बल्ल पार्टीले उनलाई पत्यायो र पार्टी सदस्यता दियो ।

सन् १९६३ मा सी दश वर्षको भएको बेला उनका बुवालाई पार्टीबाट कार्वाही गरियो र हेनानाको ल्योयाङमा रहेको कारखानामा काम गर्न पठाइयो । त्यसको तीन वर्षपछि मई १९६६ मा सांस्कृतिक क्रान्तिका कारण सीको पढाईमा असर पर्यो । सांस्कृतिक क्रान्तिको बेला सबै माध्यमिक तहका विद्यालय बन्द गरिएका थिए । विद्यार्थीहरु समेत आन्दोलनमा उत्रिएका थिए । यही क्रममा सीको परिवार पनि निशानामा पर्यो । र, सीका एकजना दिदीको समेत मृत्यु भयो ।

उनका बुवा कम्युनिष्ट पार्टी र त्यसका भातृ संगठनहरुको निशानामा थिए । पछि गएर सीको आमालाई समेत आफ्नो श्रीमानलाई क्रान्तिको दुश्मन भन्दै सार्वजनिक रुपमा आलोचना गर्न लगाइयो । सन् १९६८ मा सीका बुवालाई जेल पठाइयो । सीत्यतिबेला १५ वर्ष पुगेका थिए । उनले १९७२ सम्म बुवालाई भेटन पाएनन । बुवाआमाको संरक्षण बिनाका सीलाई लियाङजियाहे गाउंमा पठाइयो । माओको मुख्य प्रभाव क्षेत्रका रुपमा मानिने येनानको यो गाउंमा सी धेरै टिक्न सकेनन र त्यहांबाट भागेर बेइजिङ फर्किए । तर उनी पक्राउ परे र नाली खन्ने काममा श्रम कारावासमा पठाइए ।

तर उनले यति कष्ट सहदा पनि पढाई छोडेनन । सन् १९७५ देखि १९७९ सम्म बेइजिङको टिसुङ्गा विश्वविद्यालयमा केमिकल इन्जिनियर पढे । इन्जिनियरिङको पढाई भएपनि त्यहां १५ प्रतिशत समय माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको पढाई हुने गर्दथ्यो । ५ प्रतिशत समय भने उनीहरुले काम गर्नुपर्दथ्यो ।

इन्जिनियरको पढाई सकिएपछि सी कुनै बेला उनको बुवाको मातहत रहेका जेङ बीयोको स्वकीय सचिव भएर काम शुरु गरे । जेङपछि गएर चीनको केन्द्रीय सैन्य आयोगका सेक्रेटरी जनरल बने ।सन् १९८५ मा भने सी अमेरिका पुगे । अमेरिकी कृषि अध्ययनका लागि चिनियां प्रतिनिधिमण्डलको सदस्यको रुपमा उनी अमेरिका पुगेका थिए । त्यहां उनी मुस्केटिन, लोआमा एउटा अमेरिकी परिवारमा बसे । अमेरिकाबारे दृष्टिकोण निर्माणमा यो भ्रमणले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

 

 

राजनीतिक जीवन
आफ्नै परिवारका सदस्यको दुखद घटनाकाबीच पनि सीको मनमा कम्युनिष्ट विचारधाराप्रति कहिल्यै वितृष्णा भएन । सीका लागि कम्युनिष्ट विचारधारा मन पर्ने कुरा थियो । त्यसैले उनले सन् १९७१ मा ‘कम्युनिष्ट युथ लिग अफ चाइना’ का सदस्य भए । उनले कम्युनिष्ट पार्टीका सदस्यताका लागि आवेदन गरे । तर शुरुमा नै उनलाई पार्टीले सदस्यता दिएन । दशपटक सम्म निवेदन दिएपछि बल्ल उनले १९७४ मा कम्युनिष्ट पार्टीको सदस्यता पाए । त्यतिबेलासम्म सांस्कृतिक क्रान्ति सकिएको थियो भने देङ लगायतका कैयन नेताहरुलाई पुनः पार्टीमा ल्याइएको थियो । चीनमा माओ र चाओ एनलाई नै मुख्य शक्तिमा थिए ।

त्यसपछि उनी उत्पादन समूहको शाखा सचिव भए भने १९८२ मा उनलाई झेङदीङ प्रान्त (काउन्टी) पठाइयो । त्यसपछि २००७ सम्म उनले हेबेइ, फुजियान, शाङ्घाईलगायतका राज्यमा मुख्य भूमिकामा रहेर पार्टीमा जिम्मेवारी निर्वाह गरे । सन् १९९० मा भने शी फुझाउको पार्टी स्कूलका सभापनि बने ।

केन्द्रीय कमिटीमा सीको प्रवेश भने सन् १९९७ मा मात्रै भएको देखिन्छ । चिनियां कम्युनिष्ट पार्टीको १५ औं केन्द्रीय कमिटिमा उनी वैकल्पिक केन्द्रीय सदस्यको रुपमा चुनिए । त्यतिखेर १५१ जना वैकल्पिक केन्द्रीय सदस्यमा उनले सबैभन्दा कम भोट पाएका कारण उनी सबैभन्दा पछिल्लो क्रममा राखिए । सन् १९९९ मा उनको बढुवा भयो र उनी फुजियानको उप गर्भनरको कार्यालयमा पठाइए । त्यही क्रममा उनले ताइवानबाट लगानी आकर्षित गर्नुको साथै राज्यको अर्थतन्त्र मजबूत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

उनको अथक मेहनत र पार्टीप्रतिको प्रतिबद्धताका कारण फेब्रुअरी २००२ मा उनी १६ औं केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्य हुन सफल भए । जेइझिङमा रहंदा भ्रष्ट अधिकारीविरुद्ध उनको कडा भूमिकाको राष्ट्रिय चर्चा सुरु भएको थियो । योसंगै चीनका शीर्ष नेताको आँखामा उनी परे ।

यही बीचमा सन् २००६ मा सांघाईका पार्टी प्रंमुख चेन लियाङ्गयूलाई बर्खास्त गरियो । उनीमाथि सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोप थियो । उनको स्थानमा सीलाई त्यहां पठाइयो । उनी सात महिना त्यहाँ बसे । उनले त्यहां बस्दा आफ्नो भ्रष्टाचारविरोधी सादा जीवन शैली प्रदर्शन गर्दै सुविधाका लागि दिइएको रेल समेत अस्वीकार गरे । पार्टीको मूल नीति नै सर्वोपरि भन्दै उनले अन्य सबै गुटबन्दीहरुको पनि बिरोध गरे ।

सन् २००७ को १० औं राष्ट्रिय कंग्रेस सीको जीवनको महत्वपूर्ण समय थियो । उनी चिनियां कम्युनिष्ट पार्टीको नौ जनाको पोलिटब्यूरो कमिटिको सदस्य बने । यो संगै उनी कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको पनि शीर्ष क्रमको नेता बने । सन् २००८ मा उनी उनी चीनको उपराष्ट्रपति बने ।

यो अवधिमा उनले कैयन महत्वपूर्ण जिम्मेवारी पुरा गरे । कैयन देशको भ्रमण समेत गरे । सम्भवतः राजनीतिक परिवारका उत्तराधिकार पाएकामध्ये यसरी सफल भएका एकजना मात्र नेता सी थिए ।

सन् २०१२ को नोभेम्बर १५ का दिन सी जिनपिङ चिनियां कम्युनिष्ट पार्टीको महासचिव बने । साथै चिनियां केन्द्रीय सैन्य कमिशनका उनी अध्यक्ष पनि भए । योसंगै उनले पोलिटब्यूरोको संख्या नौबाट ७ मा झारे । महासचिव भएपछिको उनको पहिलो सार्वजनिक भाषणमा कुनै राजनीतिक नारा थिएन । बरु एउटा सामान्य मानिसको जस्तो उनले बोलेको अहिले पनि स्मरण गरिन्छ ।

उनले हाम्रा जनताले राम्रो शिक्षा, राम्रो स्थायी जागिर, राम्रो आय, स्थायी सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य, आरामदायी सुविधानजनक जीवन र उन्नत वातावरण खोजेका भन्दै सबै तहको भ्रष्टाचारलाई निमर्मतापूर्वक अन्त्य गर्नुपर्ने बताए । सीको यो भाषण अहिले पनि चर्चित छ । सन् २०१३ को मार्च १४ का दिन सी चिनको राष्ट्रपति चुनिए । १२ राष्ट्रिय जनकंग्रेसमा भएको मतदानमा उनले २ हजार ९ सय ५२ भोट पाएका थिए । उनका विरुद्धमा एकमात्र भोट परेको थियो भने तीनजना अनुपस्थित थिए ।

प्रतिक्रिया