यात्रु सहायता कक्षको स्थापना

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । शुक्रबार सन्धिखर्क नगरपालिकाको शान्ति बगैँचा र शीतगंगा नगरपालिकाको ठाडामा एकै साथ यात्रु सहायता कक्षको स्थापना गरिएको छ । जिल्लाको मुख्य केन्द्रको रूपमा रहेको शान्ति बगैँचामा एक कार्यक्रमका बीच शुक्रबार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सहायता कक्षको विधिवत उद्घाटन गरेका छन् । सहायता कक्षको उद्घाटन गर्दै प्रजिअ पौडेले यातायात क्षेत्रका समस्या विकृतिहरूको निरुपण गर्दै यात्रुहरूलाई प्रभावकारी सुरक्षित यात्रा बनाउन सहायता कक्षले महत्वपूर्ण सहयोग गर्ने बताए । सहायता कक्षले यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा हुने उनको भनाइ रहेको छ । पौडेलले भने, ‘सुविधा होस्, शास्ती नहोस्, हामीले यात्रुलाई सहजता र सुरक्षाका लागि यसो गरेका हौँ ।’

दुर्घटना र दुब्र्यवहार कम गर्न सहज रूपमा आवतजावत गर्ने मुख्य उद्देश्यले सहायता कक्षको स्थापना गरेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । प्रहरी प्रमुख विष्टले भने, ‘उचित भाडा लिएको छ कि छैन, आरक्षण सिटअनुसार यात्रा गराएको छ कि छैन, त्यो विषयमा यात्रुलाई तत्काल सहायता हुन्छ ।’

भूमिकास्थान नगरपालिका–९ निवासी सीता परियारले भनिन्, ‘भनेको सिटअनुसार गाडीहरूले सिटमा नराख्ने र बीच बाटोमा गएर दुःख दिने संस्कार अभैm पनि कायम छ । अब त्यस्तो भए सहायता कक्षबाट प्रहरीको सहायता लिन पाइने भइयो निकै राम्रो काम खुसी लागेको छ ।’
सहायता कक्षले यात्रुलाई सहायता हुने र केही कठिनाई भए पनि समयमै समस्या निरुपण गर्न सजिलो हुने पत्रकार मंहासघका अध्यक्ष हिम लेकालीले बताए । दसैँको वेलामा गाडीको निकै चाप हुने हँुदा सहायता कक्षले सबै पक्षलाई सहज र सरल बनाउने देउराली यातायात प्रालि अर्घाखाँचीका अध्यक्ष योगेन्द्रबहादुर खड्काले बताए ।

सहायता कक्ष स्थापना भएको सन्दर्भमा उक्त कक्षको प्रभावकारी सञ्चालनका लागि सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र वडाध्यक्ष युवराज वन्जाडे लगाएतले शुभकामना दिएका थिए । सहायता कक्षले सुरक्षित र भरपर्दो यातायातका लागि सहयोग पुग्ने देखिन्छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया