नगरको ज्योति ‘ज्योति भविश्वर’

अर्घाखाँची । भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका शीतगंगा नगरपालिकाको एक मात्र क्याम्पस ज्योति भविश्वर बहुमुखी क्याम्पसले एक विशेष कार्यक्रमबीच क्याम्पस सञ्चालन भएको सातौँ वर्षको अवसरमा वार्षिकोत्सव भव्यरूपमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य जाल्पा भुसालले जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको क्याम्पसको भौतिक पूर्वाधारको विकास र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने बताइन् । सांसद भुसालले क्याम्पसको शिक्षालाई अब प्राविधिक शिक्षा विषयहरू थप गरी प्रदेश भित्रको आकर्षक र नमुना क्याम्पसको रूपमा बिकास गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नगरप्रमुख सूर्य अधिकारीले क्याम्पसको शौक्षिक गुणस्तर विकास गरी शीतगंगाको एक मात्र क्याम्पसको विकासका निम्ति सबैपक्ष लाग्नुपर्ने भन्दै आफूले क्याम्पसको विकास तथा सिंगै नगरको विकासका लागि नगरपालिकालाई नै विशेष क्षेत्र घोषणा गर्न लागिपरेको बताए ।

ज्योति मिडिल स्कुलको नामवाट ०९ सालमा स्थापना भएको सो विद्यालय ०५७ सालबाट ११ र १२ कक्षाहरू सुरु गरेको थियो । ०६९ सालबाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहका व्यवस्थापन संकाय र शिक्षा संकायका विभिन्न कक्षाहरू सञ्चालन भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार केशव बेल्वासेले बताए ।

विद्यालयको भौतिक अवस्था कमजोर तथा आर्थिक अभाव भएको कारण आर्थिक सहयोग उठाउने उद्देश्यका साथ गत वर्षको फागुनमा धार्मिक महोत्सव सञ्चालन गरी करिब ७७ लाख रकम उठाइएको क्याम्पस प्रमुख विष्णुप्रसाद भट्टराईले बताए । निकै मिहिनेत गरी सञ्चालन गरी जम्मा भएको आर्थिकले क्याम्पस सञ्चालन गर्न मनोबल बढेको महायज्ञ सञ्चालन समिति सचिवालय संयोजक माधव पौडेलले बताए ।

जिल्लाको शैक्षिक धरोधरका रूपमा रहेको क्याम्पसलाई अब विशेष योजना बनाई नमुना बनाउने पूर्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वसन्त श्रेष्ठले बताए । क्याम्पसको वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो । साथै महायज्ञ तथा क्याम्पसलाई सहयोग गर्ने अभिभावक, शिक्षक समाजसेवी सबैलाई सम्मान गरिएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया