वनमन्त्री बस्नेत अमेरिका प्रस्थान

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन आगामी २३ सेप्टेम्बर सोमबारदेखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ । मन्त्री बस्नेतले सम्मेलनका दुई सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्नेछन्।

यसैगरी उनले आगामी मङ्गलबार संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी विशेषसभामा सहभागी हुने कार्यक्रम छ । न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिएका थिए । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह सङ्कटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए ।

नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । त्यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमाल पग्लनेक्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) को तयारी स्वरुप सो सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया