‘विकास र समृद्धिको यात्रामा सहकार्य आवश्यक’

अर्घाखाँची । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोख्रेलले विकास र समृद्धिको यात्रामा लोकतन्त्रका सहयात्री प्रतिप्रक्ष कांग्रेसले सहकार्य गर्नुपर्ने बताएका छन् ।

प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारमा प्रतिपक्षको भूमिका लोकतान्त्रिक राजनीतिक संस्कारको भए पनि संघीय सरकारमा भने त्यस्तो हुन नसकेको भन्दै केही परिवर्तन विरोधी शक्तिहरू सलबलाउन थालेकाले गणतन्त्र र संघीयता विरोधी शक्तीको डटेर मुकबिला गर्नुको विकल्प नभएको वताए ।

संघीयताका कारण देश असफल हुन थाल्यो भनेर गलत खालको भ्रम फैलाउन खोज्नेहरूलाई यो वर्ष उतर दिने वर्षको रूपमा प्रदेश सरकारले काम गरिरहेको वताए । ‘संघीयताले प्रशासनिक खर्च बढाए पनि जनताको खर्चमा कमी आएको छ’, उनले भने, ‘संघीयता जनताको आन्दोलनले ल्याएको हो घरघरमा जनताले सरकारको अनुभूति गरेका छन् त्यही नै संघीयताको मूलमर्म हो ।’

संघीयता कार्यान्वयन गर्दा हिजोको शक्तिमा रहेका वर्ग गणतन्त्र विरोधी शक्तिहरू चलखेल गरी समाज धमिल्याउन खोजेको भन्दै उनले भने, ‘सरकारले जनताको भावना बुझेर काम गर्छ, विकास र समृद्धिको यात्रा प्रभावकारी हुन्छ ।’ प्रदेश–५ सरकार कानुन निमार्णका काम सबै प्रदेशभन्दा अगाडि भएको बताए । प्रदेश सरकारले यो गत वर्ष नयाँ संरचनामा धेरै जटिलता भएका कारण सबै बजेट खर्च गर्ने नसकेको भन्ने मुख्यमन्त्री पोख्रेलले यो वर्ष शतप्रतिशत बजेट खर्च गर्ने बताए ।

नेकपाका प्रदेश इन्चार्जसमेत रहेका प्रोख्रेलले प्रदेश–५ का स्थानीय तहहरू बजेट परिचालनको दृष्टिकोणले पहिलो भएको भन्दै प्रदेश सरकार छोटो समयमा पनि उल्लेख्य काम गर्न सफल भएको बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया