प्रधानमन्त्रीको कार्यशैली परिवर्तन

काठमाडौं । सरकारको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कामको निगरानी गर्न सुरु गरेका छन् । अतिआवश्यक काममा बाहेक उनी अब प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिर ननिस्कने भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि अधिकांशमा कार्यक्रममा सहभागी हँुदै आएका ओलीले अब भने कडाइ गरेका हुन् । सिंगापुरबाट उपचार गरेर फर्किएपछि उनले सचिवालयलाई अतिआवश्यक कार्यक्रममा मात्र आफू सहभागी हुने अन्य कार्यक्रममा भने नहुने जानकारी गराइसकेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रालय र मन्त्रीले गरेका कामको अनुगमन एवं कागजी प्रक्रियालाई महत्व दिन थालेका छन् ।

उनले सबै मन्त्रालयलाई देखिने गरी काम गर्न यसअघि नै पटक–पटक निर्देशन दिइसकेका छन् । निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा परिवर्तन गरेको जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन गर्न थालेका हुन् ।

सिंगापुरबाट फर्किएपछि उनले दुईवटा कार्यक्रममा मात्र उनी देखिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ता र नेपाल–भारत क्रस पेट्रोलियम पाइपलाइनको उद्घाटनमा मात्र सहभागी भएका छन् । त्यसपछिका कार्यक्रममा उनले अन्य मन्त्रीलाई पठाउन सुरु गरिसकेका छन् । ‘अब जानैपर्ने काममा बाहेक उहाँले ‘टेबल वर्क’ मा बढी ध्यान दिनुहुनेछ’, सचिवालय स्रोतले जानकारी दिएको छ ।

सचिवालयका एक उच्च अधिकारीले भने, ‘उहाँले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकाले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी गर्नुभएको छ ।’

प्रधानमन्त्रीले गर्ने भनेको हालैको पूर्वाधार सम्बन्धि एउटा अन्तर्राष्ट्रिय तहको सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न पठाइएको थियो भने बाल दिवसको कार्यक्रमको जिम्मेवारी पनि शिक्षामन्त्रीलाई दिइएको थियो । यसैगरी यही सेप्टेम्बर महिनामा सुरु हुने संयुक्त राष्ट्र संघको ७४ औँ महासभामा भाग लिन पनि प्रधानमन्त्री ओली नजाने भएकाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली सेप्टेम्बर २२ तारेखमा न्युयोर्क जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने जानकारी दिए । प्रधानमन्त्रीको सट्टामा परराष्ट्रमन्त्री जाने तय भएको बताए । सचिवालयका अधिकारीले जनाएअनुसार अघिल्लो वर्ष प्रधानमन्त्रीको विदेश यात्रा पनि धेरै भएकोमा यसपालि भने विस्तारै कम हुँदै जाने गरी तयारी गरिएको छ ।

प्रधानमन्त्रीलाई पछिल्लो समयमा दुईपटक सिंगापुर लगेर स्वास्थ्य उपचार गरिएको थियो । ‘उहाँको स्वास्थ्य अवस्था अहिले ठीक छ, उहाँले नियमितरूपमा काम पनि गरिरहनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले भने । उनी सिंगापुरमा करिब दुईसाता स्वास्थ्य लाभ गरेर पछिल्लो पटक भदौ २० गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री लामो समयदेखि मिर्गाैलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम उनी त्यसतर्फ गएका थिए । प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकाले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको थियो ।

प्रतिक्रिया