मुस्कानलाई न्याय

केही दिनअघि वीरगञ्ज महानगरपालिकाको रेशमकोठीमा रहेको त्रिभुवन उच्चमावि कक्षा ९ मा अध्यनरत एक छात्रा छपकैया–२ निवासी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको छ । गल्लीमा ढुकेर बसेका दुई किशोरले उनीमाथि एसिड प्रहार गरेका हुन् । ती युवाले छात्रासँग प्रेम प्रस्ताव राखेको र उनले अस्वीकार गर्दा एसिड प्रहार गरेका पत्रपत्रिकाको समाचार उल्लेख पाइएको छ । एसिड प्रहारबाट छात्राको शरीरका विभिन्न भाग जलेर अवस्था गम्भीर रहेको बताइएको छ । छात्रा चिच्याउन थालेपछि त्यहाँ रहेका अन्यले अस्पतालमा पुर्याएका थिए । घटनाका अभियुक्त छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का किशोर माजिद मिया फरार रहेका जनाइएको छ । घाइते छात्राको हाल काठमाडौंमा उपचार भइरहेको छ ।

वीरगञ्ज प्रदेश –२ का मुख्यमन्त्रीको गृहनगर पनि हो । त्यो प्रदेश –२ जसले महिला अधिकारका पक्षमा विशेष अभियान चलाएको दाबी गरिरहेको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रम प्रदेश–२ को मुख्य अभियान हो । यस्ता एसिड आक्रमणका घटना काठमाडौंमै पनि नभएका होइनन् । फरक के भने काठमाडौंमा एसिड आक्रमण गर्ने र आक्रमणमा पर्ने दुवै वयस्क थिए । वीरगञ्जमा दुवै किशारावस्थाका रहेका छन् । यही वीरगञ्ज जहाँ केही महिनाअघि मुख्यमन्त्रीसँगै सरकारमा रहेको पार्टीकी नेतृ करिमा वेगमले छोरीको विवाह १६ वर्षमै गर्न पाउनुपर्ने बताएकी थिइन् । करिमाको भनाइको खण्डन उनी सम्बद्ध पार्टीले गरेको सुनिएको पढिएको छैन । यसको सिधा अर्थ हो सो पार्टी बालविवाहको पक्षमा छ । यो घटनामा पनि संघीय कानुनलाई दोष दिन बेर छैन । किनभने कानुनले १६ वर्षमा बिहे गर्न प्रतिबन्ध लगाएकाले यस्ता घटनाले प्रश्रय पाएको भन्ने ठाउ“ उनीहरूले राखेका छन् । करिमाको मागले घुमाउरो पारामा यस घटनामा छात्राका अभिभावक र स्वयं छात्रालाई दोषी देखाउँछ । ‘समयमै छोरीको बिहे नगरिदिँदाको परिणाम’ भन्ने कुनै समय लाग्ने छैन, करिमाजस्तालाई । प्रकार एकातिर ‘बेटी पढाओ, बेटी बचाओ’ भन्छ, अर्कातिर सत्तारुढ दलकै नेता छोरीलाई पढाउनु हुँदैन, किशोरावस्था नलाग्दै अभिभावकले ज्वाइँको जिम्मा लगाइदिनुपर्ने भाषण गर्दै हिँड्छन् । यो पुरातनवादी सोचका कारणले एसिडपीडित किशोरीले न्याय पाउनेमा आशंका छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रको पहिलो बुँदा नै ‘मानिस जन्मजात स्वतन्त्र र फुक्का हुन्छ’ भन्ने छ । वैवाहिक मामलामा त स्वतन्त्ररूपमा आफूखुसी विवाह गर्न गर्न, जोडी छान्न पाउने अधिकार सबैलाई हुनेछ भन्ने उल्लेख छ । करिनाको भनाइ मानवअधिकारविपरीत छ । बालविवाह आफैँमा एउटा हिंसा नै हो । किशोरावस्था अवचेतन अवस्था हो । प्रदेश सरकारसँग महिलाविरुद्धका हिंसासँग जुध्ने कुनै कार्यक्रम छैन । त्यसैले, ऊ ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रमअन्तर्गतको रकम प्लस दुईका छात्राहरूलाई साइकल वितरणमा खर्च गरिरहेको छ । भनिन्छ–‘छोराछोरी बिग्रिए, बाबुआमाको दोष, बाबुआमा बिग्रिए समाजको दोष र समाजै बिग्रिए व्यवस्थाको दोष ।’ त्यसैले वीरगञ्जमा भएको एसिड आक्रमणको दोष त्यहाँका सत्ता सञ्चालकले लिनुपर्छ । त्यसका लागि प्रदेश सरकारले कानुन बनाएर सचेतना र दण्ड दुवैलाई प्रभावकारी बनाउनुपर्दछ । छोरीलाई ज्वाइँ अभिभावकले खोजिदिने हैन, उनीहरूले नै रोज्ने वातावरण बनाइ दिनुपर्छ । यौन शिक्षालाई घर, परिवार र विद्यालयमा अनिवार्य गरिनुपर्छ । अनि मात्र नाबालक अवस्थामै हुने यस्ता घटनामा केही कमी आउनेछ ।

प्रतिक्रिया