दुई आयोगको पदाधिकारीमा जुट्यो सहमति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच शान्तिप्रक्रिया बाँकी काम टुंगोमा पु¥याउने सहमति भएको छ । द्वन्द्वकालीन समस्याका समधान गर्न सत्यनिरूपण मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनकालागि दुवै दल सहमति भएका हुन् ।  केही समयदेखि निरन्तर छलफलमा रहेका यी दुई दलले दुवै आयोगमा रहने पदाधिकारीका विषयमा पनि सहमति जुटाएका छन् । स्रोतका अनुसार सत्यनिरूपण मेलमिलापमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको नाममा सहमति जुटेको छ ।

बृहत् शान्ति सम्झौताको भावनाअनुसार संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने र अन्तर्राष्ट्रिय समुदायको पनि विश्वास जित्न सक्ने व्यक्तिलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने तयारी गरेका थिए । केही महिनादेखि निरन्तर चलेको छलफलमा नेकपाले अधिवक्ता गोविन्द बन्दीलाई र कांग्रेसले डा.सूर्य ढुंगेललाई बनाउन खोजिरहेको थियो । तर, दुवै दलले ती दुवैजनाको नाममा सहमत हुन सकेका थिएनन् । लामो समय आयोग नेतृत्वविहीन भएको र यसले अन्तर्राष्ट्रिय जगतमा पनि कुरा उठ्न थालेको भन्दै बुधबारको बैठकमा तेस्रो विकल्प खोजिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका नेताहरूले तत्कालीन महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको नाम विकल्पका रूपमा अघि सारेका थिए । जसमा नेपाली कांग्रेस सहमत भएको बताइएको छ । ०७४ को चुनावअगाडि कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकार भएका वेला उनी महान्यायाधिवक्ता थिए । श्रेष्ठकै अगुवाईमा तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीमाथि महाअभियोगको प्रक्रियाअगाडि बढेको थियो । यस्तै बेपत्ता छानबिन आयोगमा पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको टोली नै दोहोरिने भएको छ ।

कांग्रेसका नेता रमेश लेखकले समझादारी कायम गर्दै अघि बढ्नेबारे छलफल भएको जानकारी दिए । ‘शान्ति प्रक्रियाको बाँकी कार्यभार कसरी पुरा गर्ने ? यसमा दुई दलबीच गहन छलफल भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई चाँडो टुंग्याउन हामीबीच सहमति जुटेको छ’, लेखकले भने, ‘सत्यनिरूपण तथा मेलमिला विधेयकका विभिन्न पक्षबारेमा छलफल भयो ।

छिटो भन्दा छिटो संसदको प्रक्रियाबाट टुंग्याउने काममा जुट्ने भएका छौँ ।’ नेता लेखकले शान्ति प्रक्रियाको बाँकी कार्यभार चाँडो टुंग्याउन विधेयक अघि बढाउने कुरामा सहमति जुटेको छ । ‘यो बैठकपछि सिफारिस समितिले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे बनेको सिफारिस समितिले पदाधिकारीहरूको नाम सिफारिस गर्ने अपेक्षा गरिएको छ’, लेखकले भने ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सिफारिस समितिले सिफारिस गर्ने कामका लागि छलफल गरिरहेकाले यी दुई आयोगमा पदाधिकारी र संसद्को विधेयक चाँडो टुंगिने जानकारी दिए । ‘समितिले पदाधिकारी सिफारिस गरिसकेपछि क्याबिनेटले निर्णय लिन्छ । सिफारिस समितिको सिफारिसका आधारमा दुवै आयोगमा मन्त्रिपरिषद्ले नियुक्ति गर्छ’, श्रेष्ठले अगाडि भने, ‘यी आयोगका लागि कानुन बनाउने कुरामा पनि तत्कालै छलफल थाल्ने सहमति भएको छ । कानुनबारे पनि छलफल गरेर विधेयकलाई संसद्मा लैजाने सहमति दुई दलले गरेका छन् ।

प्रतिक्रिया